विवादमा रियालिटी डान्स शो ‘मेरो डान्स युनिभर्स’, निर्णायकको क्षमतामाथि प्रश्न उठाए प्रतियोगीले
काठमाडौँ : रियालिटी शो अनि विवाद नहुनु असम्भव। नेपालका प्राय रियालिटी सोहरू विवादको घेरामा पर्छन् नै। त्यो कमेडी च्याम्पियन होस् या नेपाल आइडल। पैसाको चलखेल भएको, एसएमएसबाट भोटिङ गराउने बाध्यताका कारण घर खेत गुमाएका कथाहरू बाहिरिइरहन्छन्।
सबैभन्दा ठुलो प्रश्न विजेताको क्षमतामाथि उठ्ने गरेको छ। अनि जो टाइटल विजेता हुन्छ उही त्यो क्षेत्रबाट हराउँदा निर्णायक र निर्णय प्रक्रियामाथि उठ्ने प्रश्न हारेको झोँक मात्रै हैन भन्ने देखाउँछ नै।
यस्तै भएको छ अहिले चलिरहेको टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ मा। कार्यक्रमका प्रतियोगीहरूले सार्वजनिक रूपमै कार्यक्रमका निर्णायकको क्षमतामाथि नै प्रश्न गर्दै कार्यक्रम नै बहिष्कार गर्ने बताएका छन्।
जो क्षमतावान् छ उसैलाई प्रतियोगिताबाट बाहिर पठाउने गरेको उनीहरूको दाबी छ।
प्रतियोगितामा सहभागी प्रयास आलेले जजहरू आफूहरूलाई पच्दै नपचेको बताए। एपिसोड १० बाट बाहिरिएका उनले जजमाथि विभिन्न आरोप लगाए।
‘जो डिजर्भ गरिरहेका छन् उनीहरू बाहिर छन्। जो बेसिक स्टेज आधाआधी हानिरहेको छन्, गल्ती गरिरहेका छन्, तिनीहरू चाही भित्र छन्’ उनले भने।
उनले कार्यक्रमका निर्णायकमध्ये शङ्कर बिसी बाहेक अरू कसैको निर्णय क्षमता समेत नभएको दाबी गरे।
इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना भइरहेको छ। यस फाउन्डेसनमा अध्यक्ष हुन् डिल्लीराम अधिकारी।
‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शङ्कर बिसी, केकी अधिकारी, प्रियङ्का कार्की, र नरमन राई छन्।
उनले पैसा नभएकै कारण राम्रो प्रतियोगी बाहिरिनु परिरहेको दाबी समेत गरे। शोमा जसको टिआरपी छ उसैलाई मात्र सपोर्ट गरेको आरोप समेत लगाए।
अर्का प्रतिस्पर्धी रोहन तिरुवाले मेघा अडिसनमा खत्राखत्रा डान्सर फालिएको आरोप लगाए। उनले अडिसनमा जज गर्न सक्ने क्षमताका जजहरू नै नभएको तर्क समेत गरे।
‘टिआरपी र पैसाका लागि हो भने ठिक छ, हामीलाई वास्ता छैन’उनले भने,‘नेपालमा डान्सरहरूका लागि केही गर्नुपर्छ भनेर शो खोलिएको हो भने चाहिँ योग्य अगाडि बढ्नुपर्ने थियो। चित्त नबुझेको कुरा यही हो। जजिङ गर्दा पनि सिकेर आउनु होला?’
उनले डान्सलाई बुझेको व्यक्तिलाई राख्न आयोजकलाई सुझाव दिए। विदेशमा गएर नेपाललाई चिनाउने डान्सरहरू रहेको र तिनीहरूलाई जजका रूपमा ल्याउन सुझाव दिए। उनी ८ औ एपिसोडबाट आउट भएका थिए।
डान्सर कुशल अधिकारीले मेरो डान्स युनिभर्स शो मात्र भएको बताए। उनले रियालिटी नभएको आरोप लगाए। रामेछाप घर भएका अधिकार पनि ८ औँ एपिसोडबाट बाहिरिएका प्रतिस्पर्धी हुन्।
जेठ ३०, २०८० मंगलबार २१:२२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।