सेक्युरिटी गार्डले शाहरुखलाई राेक्दै भने- ‘पर्सनालिटी त छैन, कसरी हिरो?’
काठमाडौं : बलिउडका किङ्ग भनेर चिनिएका शाहरुख खानलाई अहिले कुनै परिचयको आवश्यकता छैन।
तर एक समय यस्तो थियो उनलाई सेक्युरिटी गार्डले फिल्मको सेटमा पस्न दिएका थिएनन्। यो विषय अरु कोही नभएर शाहरुख आफैँले एक अन्तरवार्तामा बताएका हुन्।
सिमी ग्रेवाललाई दिएको अन्तर्वार्तामा फिल्म ‘शिखर’को मुहूर्तको समय स्मरण गर्दै उनले सुरक्षा गार्डले नचिनेर भित्र छिर्न नदिएको बताएका हुन्।
गार्डले आफूलाई हिरोको जस्तो पर्सनालिटीसमेत नभएको भनेकाे उनले अन्तरवार्तामा उल्लेख गरेका छन्।
शाहरुख खान फिल्म ‘शिखर’को सुटिङका लागि मुम्बईबाट दिल्ली गएका थिए। यसै क्रममा उनी सुटिङ स्पट पुग्दा सुरक्षा गार्डले रोके।
खानले स्मरण गर्दै भने, ‘ती व्यक्ति (सेक्युरिटी गार्ड)ले मलाई मेरो आफ्नै फिल्मको मुहूर्तमा जानबाट रोके। मैले उनलाई आफू शाहरुख खान भएको र फिल्मको हिरो भएको बताएँ तर त्यो गार्डले मलाई तिमीजस्तो हिरामोती धेरै देखेको छु भने।’
सेक्युरिटी गार्डसँग धेरै अनुरोध गर्दा पनि आफूलाई प्रवेश गर्न नदिएको बताए।
‘मैले ती सुरक्षा गार्डसँग धेरै अनुरोध गरेको थिएँ। सबैले मलाई भित्र पर्खिरहेका छन्, कृपया मलाई भित्र जान दिनुहोस् भनेँ तर गार्डले मेरो कुरै सुनेन। पछि भित्रबाट क्रु मेम्बर आए अनि मलाई लिएर गए। त्यो समयमा गार्डले भनेका थिए, ‘पर्सनालिटी त छैन त, कस्तो हिरो हो उहाँ।’
सुभाष घरको फिल्म ‘शिखर’ कहिल्यै पूरा हुन सकेन। यस फिल्ममा शाहरुखसँगै ज्याकी श्राफ पनि थिए। तर बजेट अभावका कारण फिल्म रोकिएको थियो।
जेठ ३०, २०८० मंगलबार २०:०३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।