विद्यार्थी संगठनले लगाएको ताला महानगरले फुटायो, नियमित पठनपाठन सुरू
काठमाडौं : विद्यार्थी संगठनले महानगरभित्रका विद्यालयमा लगाएको ताला नगर प्रहरी बलले खोलेको छ।
विभिन्न माग राख्दै विद्यार्थी संगठनले महानगरको वडा नम्बर १५ स्थित ठूलो भर्याङमा रहेको संस्कृति इन्टरनेशनल स्कूल र वडा नम्बर ३ बाँसबारीमा रहेको युलियन्स स्कूलमा लगाएको ताला नगर प्रहरी बलले खोलेको हो।
यस विषयमा प्रतिक्रिया दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध गरेका छन्।
‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ। विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ। चाहे त्यो सरकारी होस् वा निजी।’ प्रमुख शाहले भनेका छन्, ‘हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ।’
यसअघि प्रमुख शाहले सार्वजनिक अपिल गर्दै शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गरेका थिए। यसैगरी विद्यालयमा राजनीतिक नगर्न अर्को पटक सार्वजनिक सूचनामार्फत आग्रह गरिएको थियो।
जेठ ३०, २०८० मंगलबार १९:२७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।