गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने गण्डकी प्रदेशको योजना

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने गण्डकी प्रदेशको योजना

कास्की : गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ।

त्यस्तै सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौ लगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने नीति लिएको छ।

एक निर्वाचन क्षेत्रमा एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको अवधारणा विकास गरी आवश्यक पूर्वाधारसहित सामूहिक कृषि विकास कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ।

प्रदेशस्थित अनुसन्धानका निकायसँगको समन्वयमा कृषि क्षेत्रको टड्कारो समस्याका रूपमा रहेका विषयमा कार्यात्मक अनुसन्धान गरी समाधानका उपाय पहिचान तथा प्रसार गरिने नीति लिइने समेत जनाइएको छ।

जेठ ३०, २०८० मंगलबार १३:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।