अतिक्रमण बढेपछि सेती नदीको वैज्ञानिक सिमांकन गर्न माग

अतिक्रमण बढेपछि सेती नदीको वैज्ञानिक सिमांकन गर्न माग

कास्की : माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमांकनको माग गरिएको छ।

नदीको सिमांकन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो।

सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा सेती नदी संरक्षण अभियान नामको सामाजिक संस्था दर्ता गरिएको छ।

सेतीमा वर्षौंदेखि हुँदै आएको ढुङ्गा, बालुवा, गिट्टीको दोहन र नदी किनारामा बढ्दै गइरहेको अतिक्रमण र मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ।

कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभाबी र मनपरी तरिकाले दोहन बढेपछि नदीको सिमांकन माग गरिएको हो।

नदी गहिरिंदै गएको र नदीको बहावको तीव्रता बढेका कारण वर्षामा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौंको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको सेती नदी संरक्षण अभियानका अध्यक्ष हेमराज पौडेलले बताए।

संस्थाले मुलतः सेती नदीको वैज्ञानिक सिमांकन, नदीलाई प्राकृतिक अवस्थामा बग्न दिई थप क्षति हुन नदिन संरक्षणमुखी ठोस कार्य गर्न ल्याउन तीनै तहका सरकारसँग माग समेत गरेको छ।

जेठ ३०, २०८० मंगलबार ११:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।