पाकिस्तानसँग ९ रनले हार्‍यो नेपाल, बलिङ जस्तो ब्याटिङ चलेन

पाकिस्तानसँग ९ रनले हार्‍यो नेपाल, बलिङ जस्तो ब्याटिङ चलेन

काठमाडौं : नेपाल महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको छ।

आफ्नो पहिलो खेलमा जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा समेटियो।

नेपालका लागि ओपनर कविता कुँवरले २० रन जोड्दा अन्य ब्याटर खासै चल्न सकेनन्। यस बाहेक कविता जोशीले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो रन संख्या पनि छुन सकेनन्।

यसअघि  खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले सानदार खेल देखाउँदै पाकिस्तान ‘ए’ टिमलाई  १९.२ ओभरमा मात्र ८७ रनमा अल आउट गरेको थियो।

पाकिस्तानलाई सस्तैमा समेट्न इन्दु बर्माले ३ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिइन्। त्यसैगरी कविता कुँवर, कविता जोशी र सीता राना मगरले २/२ विकेट लिए।

भिसाको कारण थाईल्यान्डले प्रतियोगितामा सहभागिता नजनाएपछि नेपालले यो प्रतियोगिता खेल्न पाएको हो। प्रतियोगिताको बलियो टोली मध्येका पाकिस्तान र भारतले राष्ट्रिय टिम नभइ ‘ए’ टिमलाई प्रतियोगितामा पठाएका छन्।

जेठ ३०, २०८० मंगलबार १०:४४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।