नेपाल एयरलाइन्सले सुरु गर्‍यो मलेसिया भैरहवा उडान

नेपाल एयरलाइन्सले सुरु गर्‍यो मलेसिया भैरहवा उडान

बुटवल : नेपाल वायुसेवा निगमको जहाजले आजबाट मलेसिया भैरहवा उडान गरेको छ। एकवर्ष पहिले निगमको जहाजले काठमाडौंबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो। 

आज बिहान मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको निगमको १५८ सिट क्षमताको न्यारोबडी विमान  भैरहवामा  अवतरण गरेको हो।

मलेसियाको क्वालालम्पुरबाट आएको ९एनएकैएक्स बिमानलाई  पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवामा स्वागत गरे।

निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरू भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं हुँदै मलेसिया फर्किने छन्।

निगमले जेठ पहिलो साता मलेसिया भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो। अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ।
 
निगमका अनुसार  मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ। भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जानेछ। 
 
कम्तीमा १० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै यस दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।  भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै रहेको थियो।

जेठ ३०, २०८० मंगलबार ०९:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।