महिनौंअघि जीतगढीमा राखिएको ‘ग्रेटर नेपाल’को नक्सा कंक्रिटका संरचनाभित्र ‘गुमनाम’

महिनौंअघि जीतगढीमा राखिएको ‘ग्रेटर नेपाल’को नक्सा कंक्रिटका संरचनाभित्र ‘गुमनाम’

बुटवल : भारतले नयाँ संसद् भवनमा नेपाली भू-भागसहितको अखण्ड भारतको नक्सा राखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखे।

यसपछि यति बेला ग्रेटर नेपालको नक्सा चर्चामा छ। यसको सिको गर्दै कतिपयले यो नक्सा आफ्नो कार्यकक्षमा राख्न थालेका छन्।

भारतले संसद् भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समेटिएको थियो। यसपछि बालेनको कार्यकक्षबाट चर्चा पाएको ग्रेटर नेपालको नक्सा महिनौंअघि नै बुटवलको ऐतिहासिक जीतगढीमा राखिए पनि ‘गुमनाम’ जस्तै छ।

अंग्रेज फौज पराजित भएको बुटवलको स्थल जीतगढीमा राखिएको ग्रेटर नेपालको नक्सा कंक्रिटको संरचनाभित्र हराएको छ। कतिपयले अहिले काठमाडौंका मेयर बालेन शाहले ग्रेटर नेपालको नक्सा राखेपछि बुटवलमा पनि नक्सा जीतगढीमा राखिएको भन्दै सामाजिक सञ्जालबाट यसको प्रचार गर्नसमेत थालेका छन्।

जीतगढीमा ग्रेटर नेपालको नक्सा राखेको ७ महिना बढी भयो। त्यहाँ पुग्ने अधिकांशले अंग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक स्थलमा ध्यान दिए पनि उनीहरू यो नक्सा बारे बेखबर जस्तै थिए।

त्यसबाहेक त्यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरूको ध्यान ऐतिहासिक स्थल जीतगढीलाई कुरूप बनाउने गरी बनाएको कंक्रिटको संरचनामा पर्ने गर्दथ्यो। त्यसैमा उनीहरूले बढी चासो राख्थे।

सुन्दर बनाउने र वीरतालाई झल्काइरहने बहानामा ऐतिहासिक सम्पदा बुटवलको जीतगढीमा अनावश्यक कंक्रिटका संरचना निर्माण गरिएपछि अहिले पनि ग्रेटर नेपालको नक्साको भन्दा चर्चा कंक्रिटबाट बनाएका संरचनाको बढी छ।

कंक्रिट संरचना निर्माण भएपछि तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको जीतगढी किल्ला कुरूप बनेको छ। त्यहाँ देखिने नक्साबाहेक अन्य कंक्रिटका संरचना उदेक लाग्दा छन्।

त्यसो त कंक्रिटका संरचना नराख्न विज्ञहरूले सुझाव नदिएका होइनन्। तर स्थानीय सरकार र प्रदेश सरकारले सुझाव वेवास्ता गर्ने काम गरे। जसको परिणाम अहिले यो आलोचनाको विषय भइरहेको छ।

संस्कृतविद् निर्मल श्रेष्ठले जीतगढी किल्लामा कंक्रिट संरचना बनाउनु हुँदैन भनेर सुझाव दिए पनि त्यसलाई सबैले वेवास्ता गरेको बताए। उनले कंक्रिट संरचना बनाउँदै जाने हो भने त्यो पछि जंगल बन्ने र त्यसको पहिचान नै मेटिन सक्ने बताए।

आन्तरिक एवं बाह्य पर्यटकहरू किल्लाको पुरानो पहिचान हेर्न पुगे पनि कंक्रिटका संरचना देख्दा त्यसको मौलिकता, ऐतिहासिकता कमजोर बन्न पुगेको उनले बताए।

युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिंडेको इष्ट इण्डिया कम्पनीसँग वि.स. १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले जीतगढी क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ।

वीरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो। २०५२ साल फागुन १ गते बुटवल बाट प्रकाशित भएको लुम्बिनी दैनिकले पनि जीतगढी किल्लाको उत्खनन गर्दा सुरुङको सिंढी र प्रवेशद्वार फेला परेको लेखेको छ।

उत्खननका क्रममा सुरुङभित्र प्रवेशद्वारको भित्ताको एक इटामा चरा चित्र अंकित रहेको देखिएको र त्यहाँ प्राप्त इटाको आकार ९-६-२ को रहेको भेटिएको थियो।

नेपाली वीर सेनाहरूले पटक पटक अंग्रेजी साम्राज्यवादलाई परास्त गरेकाले जीतगढी नामले प्रख्यात सो ऐतिहासिक गढि किल्ला १६/१७ औं शताब्दी तिर सेन बंशीय पृथ्वीलाल सेन पाल्पाली राजाहरूको पालामा निर्माण भएको अनुमान गरिएको छ।

बुटवलको गढि किल्लामा भएको लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए।

स्थानीय सरकार गठन अघि झाडीमा हराएको जीतगढी गुमनाम जस्तै थियो। तर २०७४ साल चैत २६ गते नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमार्फत राष्ट्रिय स्वाभिमानको प्रतीक र वीरताको पहिचानस्थल जीतगढी सम्पदा स्थलमा वीर नेपाली योद्धाको सालिक निर्माण गर्ने, तत्कालीन ग्रेटर नेपालको नक्सा स्थापना गर्ने निर्णय भयो।

हरेक वर्ष वैशाख ७ गते जीतगढी विजय उत्सव दिवस मनाउने ऐतिहासिक निर्णय पनि गरियो। उनको कार्यकाल सकिंदासम्म जीतगढीको काम सकिएन। तर त्यो बेलाको निर्णय कार्यान्वयन अहिले भएको छ। 

जीतगढीमा यसअघि नै कर्णेल उजिरसिंह थापा, काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टीनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतका शालिक निर्माण भइसकेको छ।

जीतगढी किल्लाको संरक्षण उपमहानगरपालिकाले सुरु गरे पनि अहिले सबै काम बुटवल रामनगरमा रहेको नेपाल आर्मीको गणले गरिरहेको छ। सुरुवातको चरणमा बुटवल उपमहानगरपालिकाको बजेट विनियोजन गरेर केही काम गरे पनि पछिल्लो समय सबै काम आर्मीले हेर्ने गरेको बुटवल उपमहानगरपालिकाका सहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सुमन श्रेष्ठले बताए।

जेठ ३०, २०८० मंगलबार ०८:५९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।