तराईमा अझै केही दिन गर्मी नघट्ने

तराईमा अझै केही दिन गर्मी नघट्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षत्रमा अझै केही दिन गर्मी नघट्ने सम्भावना रहेको छ।

आगामी केही दिनसम्मको लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषण गर्दा सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने देखिएको हो।

साथै बागमती प्रदेशको तराईका भू-भाग र मधेस प्रदेशको पश्चिमी भू-भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ।

मधेस प्रदेशको पूर्वी भू-भागमा तापक्रम केही घट्ने सम्भावना देखिए पनि गर्मीको सम्भावना रहनुका साथै देशको पश्चिमी पहाडी भू-भागका उपत्यका तथा खोंचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेकाले ती भू-भागहरूमा पनि गर्मीको सम्भावना छ।

यता कोशी प्रदेशमा भने बदली र वर्षाको सम्भावना रहेकोले तापक्रम घट्नुका साथै अत्यधिक गर्मी नहुने देखिन्छ।

साथै यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (जुन १३ तारिख) भन्दा एक-दुई दिन ढिला हुने सम्भावना रहेको देखिन्छ।

जेठ ३०, २०८० मंगलबार ०७:४१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।