चितवनको हिरासतमा बनेको गगन-रविको भद्र सहमति उप निर्वाचनले तोड्यो

चितवनको हिरासतमा बनेको गगन-रविको भद्र सहमति उप निर्वाचनले तोड्यो

काठमाडौं : अधिकांश क्षेत्रमा उम्मेदवार उठाइरहँदा २०७९ मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-४ मा उठाएको उम्मेदवारलाई पनि ब्याक गरायो। एमालेले रास्वपा अनि कांग्रेसबाट काठमाडौं-४ का उम्मेदवार गगन थापाको सम्बन्धबारे शंका गर्यो।

निर्वाचन प्रचारमा न गगनले रविको क्षेत्रलाई प्रचारमा प्राथमिकता दिए न रविले नै गगनको अनि उनीनिकट उम्मेदवार भएको क्षेत्रमै प्रचारमा चासो दिए। जस्तै नुवाकोट २।

नुवाकोट २ मा रास्वपाबाट सुमन पाण्डे उम्मेदवार थिए। कांग्रेसबाट अर्जुन नरसिंह केसी। केसी गगनका ससुरा। केसी २८ हजार मतका साथ विजयी भए। एमालेका उम्मेदवारलाई तेस्रो बनाउँदै १६ हजार मतका साथ पाण्डे प्रतिष्पर्धी भए।

लामिछानेलाई पाण्डेले नुवाकोटमा आइदिन आग्रह नगरेका हैनन्। जानकार स्रोतका अनुसार लामिछाने पनि राजी थिए। तर, एकाएक उनी आएनन्। चितवन-२ मै व्यस्त भएको बताएर टारे। तर, भित्री कुरो गगनको भूमिका थियो।

जानकार स्रोतका अनुसार रविलाई अर्जुन नरसिंह केसीको क्षेत्रमा नजान उनैले मनाएका थिए। काठमाडौं-५ मा गगननिकट प्रदीप पौडेल उम्मेदवार बनेका कारण रविले आफ्नो उम्मेदवार हुँदा-हुँदै पनि वास्ता गरेनन्।

रविबाट मात्रै हैन गगनबाट पनि त्यस्तै व्यवहार भयो। चितवन एक र दुईमा प्रचारमा लागि एक दिन भए पनि आइदिन जिल्ला नेतृत्व अनि केन्द्रले आग्रह गर्दा पनि उनी चितवन ओर्लिएनन्।

मंसिर ४ को निर्वाचनको नतिजा आएसँगै गगन र रविको सम्बन्धलाई लिएर कांग्रेसभित्रै घण्टी कांग्रेसको ट्याग लाग्यो। घण्टीलाई भित्री रूपमा सघाएर आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको मात्रै हैन रास्वपाको भित्री डिजाइनरै गगन भएको शंकासम्म भयो पार्टीभित्रै।

कांग्रेस नेतृ तथा सभापती शेरबहादुर देउवा पत्नी आरजु राणाले त सार्वजनिक मञ्चबाट ‘घण्टी कांग्रेस’ भन्दै गगन समूहमाथि कटाक्ष गरेकी थिइन्। गगनसमूह पार्टीभित्रै रक्षात्मक अवस्थामा बसे। नागरिकता विवादमा सर्वोच्च हुँदै रविले सांसद् पद गुमाउँदासम्म पनि उनले सार्वजनिक रूपमा रविको आलोचना गरेनन्।

आत्महत्या दुरूत्साहनले जोडेको सम्बन्ध
रवि अनि गगनको सम्बन्धबारे जानकारको दाबी अनुसार यी दुवैको सम्बन्ध जोड्ने घटना बन्यो शालिकराम पुडासैनीको आत्महत्या अनि रविमाथि लागेको आत्महत्या दुरुत्साहन मुद्दा।

आफूमाथि लागेको आरोपको आफ्नै टेलिभिजन कार्यक्रमबाट प्रतिरक्षा गर्ने तयारी गर्दागर्दै रवि न्यूज २४ टेलिभिजनकै कार्यालयबाट पक्राउ परेर चितवन लगिए।

अनुसन्धानका क्रममा उनी न्यायिक हिरासतमा परे। उनको समर्थकहरू विस्तारै विरोध प्रदर्शनमा उत्रिन थाले। रवि आफ्नो पक्षमा राजनीतिक समर्थन खोज्ने क्रममा गगनको सम्पर्कमा पुगे।

गगन अनि रवि दुवैतिर राम्रो सम्बन्ध भएकाले यी दुवैबीच समन्वयको काम गरे। रविको समर्थकहरू बढ्दै गए। भोलि रवि राजनीतिमा आउनसक्ने आँकलन गगनको समूहले गरिसकेको थियो।

‘उनलाई दुरुत्साहन मुद्दामा सक्दो सहयोग गर्ने तर संसदीय राजनीतिमा आए काठमाडौं-४ मा उम्मेदवार नबन्ने/नबनाउने शर्त राखियो। रवि सहमत भए’, तत्कालिन अवस्थामा दुवै पक्षबीच समन्वय गरेका स्रोतले दाबी गर्यो।

काठमाडौं महानगरपालिकाको मेयरमा अप्रत्याशित नतिजा आयो। मेयरमा बालेन शाह निर्वाचित भएपछि रवि समूह राजनीतिमा सक्रिय हुनेबारे छलफलमा जुट्यो।

कुनै दलबाट उम्मेदवार बन्ने र स्वतन्त्र उम्मेदवार बन्ने वा पार्टी खोल्ने भन्ने छलफल चलिरहेको बेलामा गगन समूहकै प्रयासमा रविलाई काठमाडौंको तीनबाट उम्मेदवार बनाउनेबारे छलफल चलेको थियो। रविका दाइ हरिशरण स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं-३ मा उम्मेदवार बन्ने दाबी गरिरहेका थिए।

एकाएक रवि समूह नयाँ दल खोल्ने निर्णयमा पुग्यो। दल खुल्यो। उनी कहाँबाट उम्मेदवार बन्ने निश्चित नहुँदा पनि काठमाडौं-४ छलफलमै आएन। काठमाडौं-३ बाट उम्मेदवार बन्ने सम्भावना रहँदा-रहँदै उनी चितवन-३ बाट उम्मेदवार बन्ने अड्कलकाबीच चितवन-२ बाट उम्मेदवार बने।

उप निर्वाचनले बदलिएको सम्बन्ध
गगनले एमाले अध्यक्ष केपी ओलीको आलोचना गर्नु नौलो हैन। सार्वजनिक मञ्चहरूबाट उनी ओलीलाई प्रहार गरिरहन्छन्। सोमबार मकवानपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा पुगेका उनले ओलीलाई बा भन्दै कटाक्ष मात्र गरेनन् रास्वपाका अध्यक्ष रविलाई भगवान भन्दै व्यङ्गसमेत गरे।

‘एमालेको कार्यकर्तालाई समस्या भयो भने त्यो बालकोट जान्छ अनि सोध्छ बालाई। किनकी त्यहाँ ज्ञान एक ठाउँमा मात्रै छ,’ उनले भने, ‘ नयाँ पार्टीमा मान्छे नै छैनन्, भगवान हुनुहुन्छ। भगवानलाई सोध्छ- भगवान के गर्ने होला? अनि भगवानले भन्छ।’

गगन यसरी रविको आलोचनामा केन्द्रित हुन थालेको उप निर्वाचनपछि मात्रै हो। तनहुँ, चितवनसहित तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताभन्दा केही अगाडि जब गगनको कोर टिमका सदस्य स्वर्णिम वाग्ले एकाएक रास्वपामा प्रवेश गरेर तनहुँबाट उम्मेदवार बने त्यसपछि गगन रवि अनि रास्वपाप्रति अलि आक्रामक देखिन थाले।

पार्टीले उनीसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई तनहुँ र चितवनको उपनिर्वाचनको निर्वाचन कमाण्डर बनाउने निर्णय गर्दा गगनको जिम्मामा चितवन-२ थियो। तर, एकाएक निर्णय बदलिएर उनी तनहुँको कमाण्डर बने।

चुनावी प्रचारमा उनी रविप्रति कम स्वर्णिमप्रति नै ज्यादा आक्रामक बनेका थिए। तनहुँमा उप-निर्वाचनको क्रममा गरेको चर्को भाषणले उनलाई नै क्षति भयो। आलोचना बढ्यो। पछिल्लो समय संसदमा उनको सम्बोधन शैली नै बदलियो।

बोल्ने शैली मात्रै हैन, सोमबारको उनको भाषणले अब उनले आलोचनाको केन्द्र पनि बदलेर रविसँगको भद्र सहमति त्यागेको संकेत देखाए।

जेठ २९, २०८० सोमबार २२:४७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।