इटालीका पूर्वप्रधानमन्त्रीको निधनः जसको राजनीति सेक्स स्क्यान्डल र कर छलीले सकिएको थियो

इटालीका पूर्वप्रधानमन्त्रीको निधनः जसको राजनीति सेक्स स्क्यान्डल र कर छलीले सकिएको थियो

सन् १९९४ देखि २०११ सम्म इटालीको प्रधानमन्त्री रहेका सिल्भियो बर्लुस्कोनीको सोमबार निधन भएको छ।

उनलाई ९ वर्षदेखि ब्लड क्यान्सर थियो। सिल्भियोको फोर्जा पार्टी पनि इटालीको वर्तमान सरकारमा सहयोगी छ।

बर्लुस्कोनीलाई इटालीमा 'मिडिया टाइकुन' पनि भनिन्छ। सन् २०१७ मा उनले आफू फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका थिए। तर, त्यतिबेला उनीमाथि कयौं सेक्स स्क्यान्डलमा संलग्न भएको आरोप लागेको थियो र केही प्रमाणहरू अगाडि आएका थिए।

‘ला इटालिया’को रिपोर्टका अनुसार सन् २०११ मा कुर्सी गुमाएपछि बर्लुस्कोनीको स्टारडममा गिरावट आएको थियो। उनीमाथि यौन काण्ड, भ्रष्टाचार र कर छलीका धेरै आरोप लागेका थिए। यति हुँदाहुँदै पनि बर्लुस्कोनीले पत्रकार सम्मेलनमा भनेका थिए, ‘मलाई राजनीति थाहा छ, किनकि मिडिया टाइकुनका रूपमा मैले नेताहरूलाई राम्ररी बुझेको छु।'

सन् २०१७ मा उनले पुनरागमन गर्ने प्रयास गरे र गठबन्धन बनाएका थिए। उनको पार्टी अहिले सत्तामा छ। यति हुँदाहुँदै पनि उनीमाथि धेरै मुद्दा चलेकाले उनी फेरि प्रधानमन्त्री बन्न सकेनन्। उनी सन् १९३६ मा जन्मेका थिए। 

बर्लुस्कोनी धेरै धनी थिए। यसको उदाहरण सन् १९८६ देखि २०१७ सम्म उनको कम्पनीले एसी मिलानजस्ता अर्ब डलरको फुटबल क्लब चलाएको थियो। सन् १९९३ मा उनले फोर्जा इटालिया पार्टी बनाए र केही वर्षपछि प्रधानमन्त्री बनेका थिए।

बर्लुस्कोनी तीन पटक प्रधानमन्त्री भए। सन् २००१ देखि २००६ सम्म प्रधानमन्त्री हुँदा उनले इटालीको वित्तीय क्षेत्रलाई युरोपको सबैभन्दा शक्तिशाली बनाइदिए। सन् २००८ मा उनी तेस्रो पटक प्रधानमन्त्री भए तर युरोपकै बलियो अर्थतन्त्र मानिने इटाली अचानक आर्थिक संकटमा फस्यो।

बर्लुस्कोनी आफैंमा धेरै सेक्स स्क्यान्डलहरूमा मुछिए। कर छलीको प्रमाण पनि फेला परेको थियो। राजनीतिक दबाबमा उनले राजीनामा दिएका थिए। 

इटालीका फ्यानहरूले उनलाई किंगमेकर भनेर सम्बोधन गर्थे। किनभने उनीहरूको समर्थनबिना सरकार बनाउन गाह्रो थियो। उनी आफैं पनि अन्तिम समयसम्म सांसद नै रहे।

सन् २०१६ मा उनको ठूलो शल्यक्रिया भएको थियो। उनी निको त भए तर सेप्टेम्बर २०२० मा उनलाई कोभिड संक्रमण भयो र त्यसपछि उनको स्वास्थ्यमा सुधार आएन। 

२ वटा विवाह गरेका बर्लुस्कोनीका पाँच सन्तान छन्। 

जेठ २९, २०८० सोमबार २१:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।