दर्ता नै नगरी सञ्चालित काठमाडौंका चाइनिज पिपुल्स र सहयात्री अस्पतालमा महानगरको ताला

दर्ता नै नगरी सञ्चालित काठमाडौंका चाइनिज पिपुल्स र सहयात्री अस्पतालमा महानगरको ताला

काठमाडौंः दर्ता नै नभई सञ्चालन भएका दुई वटा अस्पतालमा काठमाडौँ महानगरपालिकाले ताला लगाइदिएको छ।

बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टरमा ताला लगाएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

‘सिल्बन्दी गर्नुपर्ने कारणचाहिँ त्यो संस्था दर्ता पनि छैन। नवीकरण पनि छैन अरू कानुनअनुसार मापदण्ड पूरा पनि भएको छैन,’ स्वास्थ्य शाखा प्रमुख पौडेलले उकेरासँग भने। 

सूचनाका आधारमा महानगरको स्वास्थ्य विभागको नेतृत्वमा अनुगमनमा पुगेको थियो। 

बौद्धस्थिति चाइनिज पिपुल्स अस्पताल २०७६ र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल तथा बर्थिङ सेन्टर २०६८ सालतिरबाट सञ्चालनमा आएका थिए। 

ती अस्पतालहरूमा चिकित्सकको संख्या विवरणमा देखाउने गरेको भए पनि चिकित्सक नै नभएका स्वास्थ्य विभाग प्रमुख पौडेलले बताए।

‘डाक्टर यति छ भन्छन्, तर डाक्टर एउटा पनि छैन,’ उनले भने, ‘चाइनिज अस्पतालको त पाइल्सको स्पेसलिष्ट भन्छ,कोही पनि  स्पेसलिष्ट नै छैन त्यहाँ। सहयात्री भन्नेको त केही पनि छैन।’ 

कानुनअनुसार दर्ता नै नभएपछि ती अस्पताललाई सिल्ड गर्नुको विकल्प नै नभएको महानगरपालिकाले बताएको छ। अस्पतालमा सिल्ड गरेपछि अब ती अस्पताल सञ्चालन गर्न नपाउने महानगरका स्वास्थ्य विभाग प्रमुख पौडेलले बताए।

तर, ती अस्पताल कानुनको दायरामा आएको खण्डमा नियम कानुनअनुसार निर्णय हुने उनले बताए। ‘तालाबन्दी गर्नुको अर्थ अहिलेलाई सेवा बन्द गरिदिएको हो। तिनीहरूलाई कानुनको दायरामा आउ भन्न खोजिएको हो,’ पौडेलले भने। 

चाइनिज पिपुल्स भनिएको अस्पतालले विशेषगरी पाइल्सको उपचार गर्ने सुनिएको र कोटेश्वरको सहयात्रीमा गर्भपतनको काम धेरै हुन्छ भन्ने सुन्नमा आएको पौडेलले बताए।

'ती दुई अस्पतालले राम्रो काम गरेका छैनन् भन्ने विषय विभिन्न कोणबाट जानकारीमा आएको हुनाले त्यहाँ अनुगमन टोली पुगेको हो,' उनले भने। 

यसरी दर्ता नभई सञ्चालन भएका अन्य अस्पताल छन् कि छैनन् भनेर महानगरपालिकाले निगरानी गरिरहेको उनले सुनाए। ‘अरू पनि हामी हेर्छौं,’ उनले भने, ‘दुई वटा मात्रै हैन। महानगर क्षेत्रभरिका सबै गैह्रकानुनी रूपमा सञ्चालित अस्पताललाई हामी यसरी नै कारबाही गर्ने नै हो।’

सम्भवतः महानगरपालिकाले स्वास्थ्य संस्था नै बन्द गरेको पहिलो हुन सक्ने स्वास्थ्य विभाग प्रमुखले बताए। १५ बेडसम्मको स्वास्थ्य संस्था स्थानीय तहको क्षेत्राधिकारमा पर्छ। 

जेठ २९, २०८० सोमबार २१:१३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।