कमल थापा भन्छन्- अहिलेकै स्थितिमा अघि बढे मुलुक दुर्घटनामा जान्छ

कमल थापा भन्छन्- अहिलेकै स्थितिमा अघि बढे मुलुक दुर्घटनामा जान्छ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन्।

काठमाडौंका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै तीव्र आलाेचना गरे।

‘राष्ट्रियता कमजोर भएको छ, विदेशी हस्तक्षेप र प्रभाव बढेर गएको छ, इतिहासकै डरलाग्दो आर्थिक मन्दी छ, भ्रष्टाचार संस्थागत भएको छ, बेरोजगारी र महङ्गीले आकाश छोएको छ,’ उनले भने, ‘यो क्रम जारी रहने हो र यथास्थितिमै मुलुक रहिरहने हो भने दुर्घटना अवश्यंभावी छ।’

सस्तो लोकप्रियता र तालीको लागि भन्दा मुलुकको समस्याको दीगो समाधानतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने जाेड दिए।

अध्यक्ष थापाले अब पार्टीलाई सडक केन्द्रित बनाउँदै जनताको माझमा जाने नीतिअनुरूप काम गर्न कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधव खत्री, काठमाडौं अध्यक्ष श्याम घिमिरे लगायत जनवर्गीय संगठनका अध्यक्षहरूले आगामी कार्यक्रमको खाका प्रस्तुत गरेका थिए।

जेठ २९, २०८० सोमबार २०:५३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।