रविमाथि गगनको कटाक्ष- नयाँ पार्टीमा मान्छे नै छैनन्, भगवान हुनुहुन्छ

रविमाथि गगनको कटाक्ष- नयाँ पार्टीमा मान्छे नै छैनन्, भगवान हुनुहुन्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कटाक्ष गर्दै नयाँ पार्टीमा भगवान भएको बताएका हुन्।

सोमबार मकवानपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले रवि लामिछानेलाई भगवानको संज्ञा दिएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कटाक्ष सुरु गरेका उनले लामिछाने र रास्वपालाई पनि त्यहिँ समेटिहाले।

‘एमालेको कार्यकर्तालाई समस्या भयो भने त्यो बालकोट जान्छ अनि सोध्छ बालाई किनकी त्यहाँ ज्ञान एक ठाउँमा मात्रै छ,’ उनले भने, ‘ नयाँ पार्टी हो भने कहाँ जान्छ? नयाँ पार्टीमा त मान्छे नै छैन, भगवान हुनुहुन्छ। भगवानलाई सोध्छ– भगवान के गर्ने होला? अनि भगवानले भन्छ। कांग्रेस मान्छेहरूको पार्टी हो नि! हामी त सामान्य मान्छे हौँ।’

महामन्त्री थापाले कांग्रेस मान्छेहरूको पार्टी भएकाले यहाँ गल्ती, कमजोरी, विमती भएको बताउँदै तल्ला तहका कार्यकर्तालाई आफूहरूलाई भन्दा बढी थाहा भएको बताए।

पार्टीका नेताहरूले तल्ला तहका कार्यकर्तालाई भेटेर उनीहरूबाट ज्ञान लिँदै कांग्रेसभित्रको निराशा चिर्नुपर्नेमा उनले जोड दिए। पार्टीभित्रको निराशा चिरिए मात्रै देशभित्रको निराशा चिरिने उनको भनाइ छ।

जेठ २९, २०८० सोमबार २०:०९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।