महासचिव पोखरेलको दाबीः एमाले मात्र बलियो राजनीतिक शक्ति हो

महासचिव पोखरेलको दाबीः एमाले मात्र बलियो राजनीतिक शक्ति हो
फाइल तस्वीर

काठमाडौँः नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन्। 

एमाले प्रचार विभागले आज पार्टी मुख्यालयमा आयोजना गरेको ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो’ विषयक अन्तरक्रियामा उनले नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिन राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको बताए।

बलियो राष्ट्रिय राजनीतिक शक्ति स्पष्ट नीति, उद्देश्य, लक्ष्य गन्तव्यमा भएको एमालेमात्र बन्ने उनले दाबी गरे। 'नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्न केहीले सांस्कृतिक अतिवादलाई प्रवर्द्धन गर्ने, कहिले  लोकप्रियताका नाममा नेपाल बलियो राजनीतिक शक्ति निर्माण गर्ने प्रक्रिया अवरोध सिर्जना गर्ने खालका प्रयास भइरहेका छन्', उनले भने। 

बलियो राष्ट्रिय शक्तिको निर्माण नेतृत्वको जग र स्पष्ट गन्तव्यमा आधारित भएर मात्र निर्माण हुने भन्दै त्यसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने उनको भनाइ थियो।

उनले एमालेसँग नीति, लक्ष्य र उद्देश्यमा प्रतिस्पर्धा गर्न अन्य राजनीतिक दललाई आह्वान गरे। महासचिव पोखरेलले मुलुकमा रहेको समस्या र चुनौतीलाई समाधान गर्न सञ्चारमाध्यमले पनि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा राखे। 

जेठ २९, २०८० सोमबार १९:२८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।