टिभी अम्पायरको निर्णयको आलोचना गरेपछि शुभमन गिलमाथि आईसीसीको कारबाही

टिभी अम्पायरको निर्णयको आलोचना गरेपछि शुभमन गिलमाथि आईसीसीको कारबाही

काठमाडौं : अस्ट्रेलियाविरुद्धको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा टिभी अम्पायरको निर्णयको आलोचना गरेपछि भारतीय ओपनर शुभमन गिल कारबाहीमा परेका छन्।

विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले उनलाई ‘म्याच फि’काे १५ प्रतिशत जरिवाना लगाउँदै कारबाही गरेकाे हाे।

भारतले चौथो दिन अस्ट्रेलियाले दिएको ४४४ रनको लक्ष्य पछ्याएको थियो। गिल १८ रनमा ब्याटिङ गरिरहँदा क्यामरन ग्रीनले गलीको देब्रेपट्टि डाइभिङ गर्दै उत्कृष्ट क्याच लिए।

तर, गिल यो क्याचबाट सन्तुष्ट भएनन् र फिल्ड अम्पाएरको निर्णयलाई च्यालेन्ज गरे। थर्ड अम्पायर रिचर्ड केटलब्रोले विभिन्न कोणबाट हेरेपछि आउट दिए।

त्यसपछि गिलले ग्रिनले क्याच लिएको जूम गरिएको तस्वीर ट्वीट गरे। यससँगै उनले इन्स्टाग्राममा यससँग सम्बन्धित एक पोस्ट पनि गरेका छन्।

आईसीसीले उनलाई ‘अन्तर्राष्ट्रिय खेलमा भएको घटनाको सम्बन्धमा सार्वजनिक आलोचना वा अनुपयुक्त टिप्पणी’सँग सम्बन्धित धारा २.७ को उल्लङ्घन गरेको आरोप लगाएको छ।

साथै, भारतलाई स्लो ओभर रेटको लागि म्याच शुल्कको शतप्रतिशत र अस्ट्रेलियालाई म्याच शुल्कको ८० प्रतिशत जरिवाना गरिएको छ।

भारतले तोकिएको समयमा पाँच ओभर कम बलिङ गर्दा अष्ट्रेलियाले चार ‌ओभर कम बलिङ गरेको थियो।

जेठ २९, २०८० सोमबार १८:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।