अन्तिम चरणमा रहेको ‘र्‍याप स्टार’का प्रतियोगी भन्छन्, 'फोहोरी शब्द बोल्न छाडिसक्यौँ'

अन्तिम चरणमा रहेको ‘र्‍याप स्टार’का प्रतियोगी भन्छन्, 'फोहोरी शब्द बोल्न छाडिसक्यौँ'

काठमाडौं : नेपालमा मौलाउँदै गरेको र्यापको टेलिभिजन रियालिटी शो ‘र्याप स्टार’ अन्तिम चरणमा छ। 

सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले रियालिटी शो अन्तिम प्रतिस्पर्धा असार २ मा हुने जानकारी दिइएको छ। 

अन्तिम प्रतिस्पर्धीमा रहेका अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) रहेका छन्।

देशैभरिबाट ७ हजार जनाले भाग लिएको यो रियालिटी शोमा अहिले ६ जना ‘र्याप स्टार’को फाइनलमा पुगेका छन्।

प्रतिस्पर्धी अनुप उप्रेतीले नेपाली शब्दहरू प्रयोग गरेर र्याप गाउने गरेको बताए। पत्रकारले र्यापरहरूले त छाडा शब्दहरू प्रयोग गरेर गीत गाउँछन् नि भन्ने प्रश्नमा उनले आफूहरूहरूले अहिलेसम्म त्यस्तो शब्द प्रयोग नगरेको बताए। 

‘गाँजाबारे गीत बनिरहेका हुन्छन्। हामीले यसअघिका गीतहरूमा पनि छाडा शब्दहरू प्रयोग नगरिकनै र्याप गाएका थियौँ,‘उनले भने,‘यस्तै यस्तै गीतहरू गाएर नै समाजमा र्याप पनि राम्रा छन् भन्ने सन्देश दिन चाहन्छौँ,’ उनले भने।  

राम्रा राम्रा कुरालाई र्यापमा ल्याउने योजना आफूहरूको रहेको समेत उनले बताए। 

यस रियालिटी शोमा नेपाली सेनाका सिपाहीसमेत प्रतिस्पर्धामा छन्। साजन लामा (निम्बुजोडा)ले रियालिटी शोको सुरुवातदेखि नै र्याप स्टारको प्रतिस्पर्धामा भिडिरहेका छन्। उनले आफू नेपाली सेनामा कार्यरत रहे पनि र्यापमा आफू भिजिरहेको बताए। उनले सेनाबारे र्याप गीत गाएर सुनाए। उनले देशभक्ति पूर्णभाव गीत गाउँदा राइफलको सिरानी,मर्न र मार्न डर लाग्दैनजस्ता शब्दहरू प्रयोग गरेका थिए। 

८ वर्षदेखि नेपाली सेनामा कार्यरत राजनले आफ्नो परिचयका लागि र्याप स्टार रियालिटी शोमा आएको बताए। उनले केही वर्षअघि नै 'सैनिक' भन्ने र्याप गीत युट्युबमा ल्याइसकेका छन्।  

यता प्रतिस्पर्धी अनुप उप्रेतीले भने तत्कालीन माओवादीको द्वन्द्वकालका घटनालाई लिएर र्याप गाए। उनले जनयुद्ध लडेका साथीहरू देश बनाउँछुभन्दा भन्दै परदेश लागेको र खाडी मुलुकमा काम गरिरहेको कथा र्यापमा सुनाए। जसका कारण उपस्थित धेरैको मन छोएको थियो। 

कार्यक्रममा ६ जना प्रतिस्पर्धीहरूले र्यापमा गीत गाएर सुनाएका थिए। 

ग्रिन मन्की फिल्मस् प्रालिले आयोजना गरेको शोमा हिपहप र ‘र्याप गीत संगीतको प्रवर्द्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताए।

‘हामीले हिपहप र र्याप गीत संगीतको प्रवर्द्धन र प्रमोशन गर्न यो रियालिटी शो आयोजना गरेका छौँ,’ उनले उत्साहित हुँदै भने,‘पहिलो शोबाट नै हामी धेरै उत्साहित भएका छौँ।’ 

पहिलो चरणको रियालिटी शो फाइनलमा नपुग्दै आयोजकले सिजन-२ छिट्टै ल्याउने घोषणा गरे। ग्रिन मन्की फिल्मस् प्रालिका सीईओ सुरेश कुसवारले यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ नयाँ प्रतिभाले पनि अवसर पाएका छन्। अब छिट्टै अर्को भागको घोषणा गर्ने बताए। 

करिब चार महिना चलेको यो रियालिटी शो स्पेश फोरके टेलिभिजनमार्फत नियमित प्रसारण हुँदै आएको छ।

यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ। यस प्रतियोगिताको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारी) रहेका छन्।

२९ जेठ, २०८०, १७:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।