गोली चलाउने सई सन्जेलको रिपोर्टिङ- ‘अन्डकोष समातेपछि प्रतिरक्षामा गोली चलाएँ’

गोली चलाउने सई सन्जेलको रिपोर्टिङ- ‘अन्डकोष समातेपछि प्रतिरक्षामा गोली चलाएँ’

काठमाडौं : सिनामंगलमा एक व्यक्तिलाई गोली हानेका नेपाल प्रहरीका सई बालकृष्ण सन्जेलले पक्राउ गर्नखोज्दा अन्डकोष समातेर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको रिपोर्टिङ गरेका छन्।

लागुऔषध कारोबारीको आशंकामा सन्जेलले आइतबार सिनामंगलस्थित एक रेष्टुरेन्टअगाडि एक व्यक्तिलाई गोली हानेर घाइते बनाएका थिए।

लागूऔषध नियन्त्रण ब्यूरो रहेका सन्जेलले घटनापछि रिपोर्टिङ गर्दा ‘पक्राउ गर्न खोज्दा प्रतिकार गरेको, अन्डकोष समातेर भाग्न लागेको, आफ्नो पेस्तोल खसेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको’ दाबी गरेको ब्यूरो स्रोतले बतायो।

गोली चलेको सूचनापछि काठमाडौं परिसरको टोली गएर घाइतेलाई अस्पताल लगेको थियो। प्रहरी बुलेटिनमा उल्लेख भए अनुसार गोली लागेर घाइते हुनेमा धरानको भानुचोकमा तरकारी व्यापार गरी बस्ने भारतीय नागरिक २७ वर्षीय हेमन्त कुमार भगत रहेको उल्लेख छ। 

समूहले नै आक्रमण गरेपछि गोली चलाएको दाबी गरे पनि अन्य को-को हो समेत खुलाएको छैन। खैरो हेरोइनको कारोबारी भएको दाबी गर्दै प्रहरी बुलेटिनमा एक सय ग्राम हेरोइन फेला परेको दाबी गरिएको छ।

सन्जेल लामो समय अपराध महाशाखामा कार्यरत थिए। सुन तस्करी र रकम असुलीमा उनी पटक-पटक जोडिदै आएका प्रहरी अधिकृत हुन्। उनी ३५ किलो सुन तस्करीका मुख्य नाइके गोरेसँग समेत जोडिएका थिए।

जेठ २९, २०८० सोमबार १७:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।