अर्थमन्त्रीको स्पष्टीकरणः सांसद पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो

अर्थमन्त्रीको स्पष्टीकरणः सांसद पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो

काठमाडौंः अर्थमन्त्री प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन्। 
आव २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए। 

संसदमा उठेका विषयमा जवाफ दिनुहुँदै उनले, ‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ। यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पूँजीगत खर्च नै हो।’ 

कम्तीमा १ करोड घटिको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालय कै उहाँ प्रस्ट पारे। 

‘माननीयले त सिफारिस मात्रै गर्ने हो। सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’, उनले भने। निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाइ थियो। 

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गर्नुभएको थियो। यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा कम्तीमा १ करोड विनियोजन भएको छ।

सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायत भौतिक पूर्वाधार निर्माण आयोजना तथा कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरेका थिए। 

जेठ २९, २०८० सोमबार १६:२७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।