पहिलेदेखि थुप्रेका अर्थतन्त्रका समस्यालाई एक धक्कामा समाधान गर्न सकिंदैन : अर्थमन्त्री

पहिलेदेखि थुप्रेका अर्थतन्त्रका समस्यालाई एक धक्कामा समाधान गर्न सकिंदैन : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले यसपालिको बजेट कठिन परिस्थितिमा ल्याइएको बताएका छन्।

आज (सोमबार) संसद्मा सांसदहरुले बजेट माथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सबै समस्या एकैपटक नसल्टिने पनि बताए। 

‘सबै कुरालाई स्वीकार गरेर अगाडि बढ्ने क्रममा हामीले चरणबद्ध रुपमा अप्ठ्याराहरूलाई हटाउने हो। समस्याको चाङ एकैपटकमा हटाउन सकिंदैन भन्ने स्वीकार गरेर नै मैले बजेट कार्यान्वयनको प्रस्ताव राखेको छु,’ उनले भने।

उनले कोभिडको प्रभाव, रुस-युक्रेन युद्ध र आर्थिक मन्दी जस्ता समस्याकाबीच कठिन परिस्थितिमा आएको बजेटले विगतदेखिका समस्या एकैपटक सल्टाउन पनि नसकिने बताए।

‘मैले यो भनेको छैन कि सबै चिज हामी आउने बित्तिकै राम्रो भयो। यति छोटो समयमा राम्रो हुने कुरा पनि छैन। यी समस्याहरू एक/डेढ वर्षमा आएका समस्या पनि होइनन्,’ उनले भने, ‘धेरै पहिलेदेखि थपिंदै गएर थुप्रो लागेका समस्यालाई एक धक्कामा समाधान गर्छु र अगाडि बढ्छु भन्ने दाबी पनि मैले गरेको छैन।’

उनले अर्थतन्त्रमा समस्या रहेको र आर्थिक वृद्धि कम भएको बताउँदै बजेटमार्फत साधारण खर्च कटौतीको प्रस्ताव अगाडि सारिएको उल्लेख गरे। साथै उनले राजस्व संकलन कम भएको र आन्तरिक ऋण लिनु परेको पनि स्विकार गरे।

यस बजेट कृषि, पर्यटन, साना उद्योग, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्ने, देशभित्र उत्पादन बढाउने, र स्टार्टअपका विषय जस्ता कुरामा केन्द्रित रहेको उनले बताए।

जेठ २९, २०८० सोमबार १४:०७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।