चितवनका ५ हजार गाईभैंसीलाई ‘लम्पीस्किन’को औषधि वितरण

चितवनका ५ हजार गाईभैंसीलाई ‘लम्पीस्किन’को औषधि वितरण

चितवन : चितवनमा लम्पीस्किन रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैंसीलाई यसविरुद्धको औषधि दिइएको छ। 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मलहम र स्प्रे तथा ज्वरो नियन्त्रणका लागि पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको हो।

हाल पशु सेवा विज्ञ केन्द्रले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। लम्पीस्किनका कारण गाईभैंसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ।

अधिकारीका अनुसार जिल्लाका पशुपालक किसानले अहिले आफैं खोप खरिद गरेर गाईभैंसीलाई दिन थालेका छन्। किसानले प्रतिडोज रु दुई सय १० पर्ने खोप खरिद गरी आफैं दिन सुरु गरेको हुन्।

जिल्लामा हालसम्म चार हजार एक सय गाईभैंसी यस रोगबाट प्रभावित भएका छन्। जसमध्ये ११२ वटा मरीसकेको कार्यालयले जनाएको छ।

यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन्। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैंसी पालिएको छ।
 
गाईभैंसीमा यो रोग देखा परेमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोड सुक्ने जस्ता लक्षण देखा पर्छ ।
 
यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैंसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकता अनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने हुन्छ।

जेठ २९, २०८० सोमबार १२:१८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।