नयाँ औषधि उद्योग दर्ता होइन, भएकालाई व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भएका औषधि उद्योगलाई व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
आइतबार स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको ‘नेपाली औषधीको विकास र चुनौती’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा उनले लाइसेन्स लिएर झोलामा हालेर बेचबिखन गर्ने औषधि उद्योगलाई भने प्रोत्साहन गर्न नहुने बताए।
‘पहिले भएका औषधि उद्योगलाई व्यवस्थापन गरौं। भएकालाई राम्रोसँग सहकार्य गरेर अगाडि बढ्न दिऔं,’ मन्त्री बस्नेतले भने, ‘अनि यो लाइसेन्स लिएर झोलामा हालेर बेचबिखन गर्ने तिर चाहिं अलि हामी धेरै अगाडि नबढौं। यसलाई प्रोत्साहित नगरौं।’
उनले औषधि व्यवस्था विभागमा महानिर्देशकलाई नयाँ औषधि उद्योग दर्ता गर्ने विषय लिएर मन्त्रालयमा नआउन र भएका औषधि उद्योगलाई नियमन गर्ने विषयमा जोड दिन निर्देशन दिइसकेको बताए।
त्यसैगरी उनले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने बताउँदै बजारको आवश्यक वातावरण बनाउनका लागि सबै पक्ष मिलेर लाग्नुपर्ने तर्क गरे।
औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधी उद्योगलाई प्रवर्द्धनका लागि भएका ऐन तथा नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा बोल्दै औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधि गुणस्तरीय रहेकाले गुणस्तरमा शंका नगर्न अनुरोध गरेका छन्।
जेठ २९, २०८० सोमबार ०९:१४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।