हिंड्नै नपरे नि हुन्थ्यो जस्तो लाग्ने बुटवल-नारायणगढ सडकखण्ड

हिंड्नै नपरे नि हुन्थ्यो जस्तो लाग्ने बुटवल-नारायणगढ सडकखण्ड

बुटवल : बुटवल-नारायणगढ सडक निर्माणको क्रममा नै छ। समयमै यो सडक सम्पन्न भएको भए अहिले सडक चिल्लो हुने थियो। बुटवल-नारायणगढको कुल ११४ किलोमिटर सडक बढीमा २ घण्टामै पुग्न सकिन्थ्यो।

तर निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा बुटवल-नारायणगढ सडकको यात्रा गर्नै नपरे हुन्थ्यो जस्तो धेरैलाई लाग्ने गरेको छ।

निर्माणाधिन सडकमा धुलो उड्दा बाटो देखिंदैन। धुलोले दिउँसै अन्धकार बनाइदिन्छ। राजमार्ग किनारका सर्वसाधारण पनि धुलोबाट आजित छन्। पैदलयात्री र मोटरसाइकल चालक तथा सवारी साधनका पीडा त भनि साध्य नै छैन।​​​​​​

पट्यार लाग्दो यात्रा गर्नुपर्दा बुटवल-नारायणगढ सडकमा यात्रा गर्नेहरुले सास्ती व्यहोरिरहेका छन्। धुलोले न त बाटो देखिन्छ न तर अरू गाडी। निर्माणाधिन सडकमा बिग्रेका सवारीले जाम पनि उस्तै छ।

जम्मा ११४ किलोमिटर बुटवल-नारायणगढ खण्ड पार गर्न कम्तीमा पनि ५ घण्टा लाग्छ। ‘धुलोले सडक देखिंदैन। ठाउँठाउँमा डाइभर्सन हुँदा सवारीको गति बढ्दैन। बुटवलबाट यात्रा गर्दा ५/६ घण्टामा मात्र नारायणगढ पुगिन्छ,’ नारायणगढबाट बुटवलतर्फ आउँदै गरेका सन्तोष केसीले भने।

धुलोकै कारण कतिपय राजमार्ग किनारका व्यवसायी विस्थापित भएका छन्। चलि आएकामा पनि ग्राहक भेट्न मुस्किल छ।

‘धुलोका कारण धेरैलाई कहि नरोकि सिधा गन्तव्यमा जानुपर्छ भन्ने लाग्दो हो। नास्ता खाना रोके पनि सर्भिस लेनमा आउँन मिल्दैन। त्यसमाथि राजमार्गमा उड्ने धुलोले पनि ग्राहक रेष्टुरेण्टमा पस्दैनन्,’ गैंडाकोटमा व्यवसाय गर्दै आएकी अमृता रानाले भनिन्।

धुलोले खास गरी जंगल क्षेत्रमा अझ बढी सताउने गरेको छ। बर्दघाटदेखि दाउन्नेसम्म धुलोले केही देखिंदैन। बजार क्षेत्रमा फाट्टफुट्ट ठेकेदारले पानी राखे पनि जंगल क्षेत्रमा पानी राख्दैनन्। जसका कारण बाटो नै छोप्ने धुलो उड्छ।

त्यसैकारण सबैभन्दा बढी सास्ती मोटरसाइकल र स्कुटर चालकलाई हुने गरेको छ। धुलोले मानिसको अनुहार चिन्न सक्ने अवस्था सो क्षेत्रमा यात्रा गर्नेहरुको हुँदैन।

कावासोती अगाडिको क्षेत्रमा पनि धुलो उस्तै छ। डाइभर्सन हुँदै जाँदा उकालो पर्छ। कच्ची त्यसमा पनि मसिना ढुंगा र धुलोसहितको बाटोका कारण बढी लोड भएका सवारी उकालोमा चढ्न नसक्दा घण्टौ जाम लाग्ने समस्या पनि यहाँ छ।

दुई खण्डमा करिब १९ अर्ब रुपैयाँको लागतमा भइरहेको सडक स्तरोन्नतीको काम चाइना कन्स्ट्रक्सनले चार वर्ष अघि ठेक्का पाएको थियो। तर काम धीमा गतिमा अघि बढ्दा सबैले सास्ती व्यहोर्नु परेको छ।

२०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्दा सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिना भित्र सम्पन्न गर्ने भनिएको थियो। तर काम सम्पन्न भएन। पछि थप भएको म्याद २०८० साउनमा सकिंदैछ। अहिलेसम्म करिब ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

बुटवल-नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन, जंगल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार गरिएको छ।

चाइना कन्स्ट्रक्सन तर्फबाट पश्चिम सेक्टरका कन्ट्याक्ट म्यानेजर जोयु हेयुले केही समस्या भए पनि आगामी डेढ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए। 

सडककै कारण यातायात व्यवसायमा पनि समस्या

समयमै सडक नबन्दा यात्रु र सडक किनारका स्थानीय मात्र नभइ यातायात व्यवसायी पनि यसबाट ठूलो समस्यामा परेका छन्। करोडौं मूल्यका सवारी साधन खरिद गरेर राजमार्गमा कुदाउँदा सडककै कारण सवारी छिटो बिग्रने र इन्धनको खपत पनि बढि हुने गरेको छ ।

‘एउटा व्यवसायीले करोड बढी रकम राखेर एसी बस चलाएको छ। तर सडकका कारण बुटवलबाट काठमाडौं जाँदा उठ्ने भाडाले गाडि मर्मत, इन्धन र कर्मचारीलाई पाल्न समेत गाह्रो छ। एकपटक काठमाडौं पठाउँदा कुनै न कुनै सामान बिग्रिन्छ,’ पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले भने।

उनले सडककै कारण धेरै यातायात व्यवसायीले बढीभन्दा बढी आर्थिक क्षति व्यहोर्नुपरेको बताए। ‘पहिले ८० लिटर पेट्रोल खर्च हुने दुरीले अहिले बाटोका कारण १४० लिटर खान्छ। बाटोका कारण अनावश्यक इन्धनको क्षति व्यहोर्नु परेको छ,’ उनले भने।

उनले बाटोकै कारण नयाँ गाडि एक वर्षमै ध्वस्त भएको बताए। पहिले पाँच वर्षसम्म पार्टपुर्जा केही नहुने गरे पनि अहिले एक वर्षमै पाटपुर्जा बिग्रने गरेको बताए।

सडकको अवस्था राम्रो नहुँदा अहिले सवारी साधनको आयु नै घटेको व्यवसायीहरू बताउँछन्।

‘सडकमा खाल्डाखुल्डी धेरै छन्। ढुंगा पनि सडकमा छन्। धुलोले केही देखिंदैन। लिक बाहिर टायर जान्छ अनि बझारिन पुग्छ। ढुंगाले टायर पनि उस्तै काट्छ। त्यसैले पहिलेकोभन्दा सवारी साधनको आयु यही बुटवल-नारायणगढ सडकले घटाएको छ,’ उनले भने।

जेठ २९, २०८० सोमबार ०८:३०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।