विद्यालयको चर्पी निर्माणमा भ्रष्टाचार, प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

विद्यालयको चर्पी निर्माणमा भ्रष्टाचार, प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखराः विद्यालयको चर्पी निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकविरुद्ध मुद्दा दायर गरेको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा रहेको कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध आयोगले मुद्दा दायर गरेको हो। 

आर्थिक वर्ष २०६७/६८ मा विद्यालयको चर्पी निर्माण कार्यका लागि निकासा भएको रकम हिनामिना भएको भन्दै आइतबार आयोगले पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा हालेको हो। 

आरोप पत्रमा लेखिएको छ- ‘रकम बैकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटकपटक निर्देशन दिइएकोमा प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी निजले शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ लाख हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको कार्य भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’

प्रधानाध्यापकको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको आयोगको ठहर छ। ऐनमा उल्लेख भएबमोजिम ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड 'घ' बमोजिम बिगो ३ लाख १२ हजार कायम गरी कैद र बिगोबमोजिम जरिवाना गराउन आयोगले माग गरेको छ।

साथै ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजबाट असुल उपर गर्न पनि अख्तियारले माग गरेको छ। 

जेठ २८, २०८० आइतबार २२:२६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।