निर्वाचनमा अन्तरघात गर्नेलाई जसपाले कारबाही गर्ने

निर्वाचनमा अन्तरघात गर्नेलाई जसपाले कारबाही गर्ने

काठमाडौँः जनता समाजवादी पार्टी, नेपाल (जसपा) गएको प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने भएको छ। 

जसपाको आजको बैठकले अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्थाअनुसार कारबाही गर्ने निर्णय भएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार पार्टीको विधानमा भएको व्यवस्थाअनुसार जो जहाँका समितिमा आबद्ध छन्, त्यही समितिले कारबाही गर्ने निर्णय भएको छ।

स्थानीय तहमा रहेकालाई स्थानीय समिति, जिल्लामा रहेकालाई जिल्ला समन्वय समिति, प्रदेशमा रहेकालाई प्रदेश समिति तथा केन्द्रमा रहेकालाई केन्द्रीय कमिटीले कारबाही गरिने भएको छ। 

कारबाहीमा पार्टी सदस्यबाट हटाउनेदेखि लिएर नसिहतसम्मको कारबाही तोकिएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए।

गएको मंसिर ४ गते सम्पन्न निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव नै सप्तरीबाट पराजित भएका थिए। त्यसको अध्ययन तथा छानबिनका लागि कार्यदल गठन गरिएको थियो।

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको सो कार्यदलले गएको फागुन २० गते पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको थियो।

कार्यदलले करिब डेढ महिना लगाएर ४८ जना केन्द्रीय सदस्यसहित एक सय ५२ जनासँग बयान लिइएको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार जिल्ला जिल्लाबाट आएको उजुरीका आधारमा पार्टीका ती नेताहरूसँग बयान लिइएको थियो।

जेठ २८, २०८० आइतबार १८:३०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।