यसपालिको बजेट देश विकासको एजेन्डाभन्दा गाँजा खेतीतिर भौतारियो : पूर्वअर्थमन्त्री पौडेल

यसपालिको बजेट देश विकासको एजेन्डाभन्दा गाँजा खेतीतिर भौतारियो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं :पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको बजेट देश विकासको विशेषताको एजेन्डालाई अस्विकार गर्दै गाँजा खेतीतिर भौतारिएको टिप्पणी गरेका छन्।

संसद्‌मा जारी बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले बजेट ‘गेम चेन्जमा नभइ कार्यक्रम र आयोजनाहरुको नेम चेन्जमा’ उद्दत भएर लागेको बताए।

‘हरेक देशका विकासका विशिष्ट संरचना र आधार हुन्छन्। हाम्रो देशको विकासका लागि जलश्रोत, पर्यटन र कृषि जस्ता सम्भावनाका क्षेत्रहरू छन्। तर यो बजेटले नेपाली विकासको विशेषताको एजेन्डालाई अस्विकार गरेको छ। विचलित भएको छ र गाँजा खेतीतिर भौतारिएको छ।’

‘व्यवस्थापन क्षमतामा विश्वसनीय सुधार नगरी गाँजा खेतीमा लाग्ने हो भने यसले मुलुकलाई त्रासदीपूर्ण विपत्ति तिर लतार्नेछ,’ उनले थपे।

उनले यस बजेटमा  कुनै नयाँ कुरा नभएको पनि उल्लेख गरे।

‘बजेटमा कुनै नयाँपन छैन। जे छ विगत कै कार्यक्रमहरुको निरन्तरता छ। नयाँ केही छ भने नाराको भीड छ। तर ती नारालाई कार्यान्वयन गर्ने कार्यक्रम र त्यो अनुसारको विनियोजन छैन,’ उनले भने।

सडक, आधारभूत अस्पताल, बाँकी रहेका भूकम्पपछिको निर्माण, विद्यालय, औद्योगिक काम आदिका लागि न्युन बजेट विनियोजन भएको उनले बताए। उनले भने, ‘भौतिक पूर्वाधार तथा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मानवीय विकासका कार्यक्रम तथा योजनामा गरिएको विनियोजन अत्यन्त न्यून र असन्तुलित छ।’

साथै उनले बिनाअध्ययन वडा र पालिकाबाट कार्यान्वयन हुनुपर्ने साना साना आयोजनामा पनि बजेट छरिएको बताए।

जेठ २८, २०८० आइतबार १२:५२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।