बढ्दो गर्मी र खडेरीको असर : खेतमै सुके मकैका बोट, मर्न थाले धान र कोदोका बीउ

बढ्दो गर्मी र खडेरीको असर : खेतमै सुके मकैका बोट, मर्न थाले धान र कोदोका बीउ

​​​​काठमाडौं : हालको बढ्दो गर्मी र तापक्रम वृद्धिको असर कृषिमा पर्न थालेको छ। लामो खडेरीका कारण कतै मकैका बोट खेतमै सुक्न थालेका छन् भने कतै धान र कोदाको बीउ मर्न थालेका छन्।

खडेरीका कारण म्याग्दीमा किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुकेर मर्न थालेको छ। लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण त्यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेको छैन। तल्लो क्षेत्रमा धानको बीउ, सिमी लगायत बर्खे बाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन्।

पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले जानकारी दिए।

जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण र रघुगङ्गाका लेकाली क्षेत्रमा विगतका वर्षमा यति बेला कोदो रोपाइँ सकिन्थ्यो। केही ठाउँमा धान रोपाइँ भइसकेको हुन्थ्यो।

तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ। लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकै लगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी –२ का किसान नारायण शर्मा सापकोटाले बताए।

सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताए।

जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ। करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो। जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो। 

जिल्लाभर सात हजार ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झन्डै चार हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ। 

त्यसैगरी चितवनका किसान पनि खडेरीले खेतमै मकैका बोट सुकेपछि चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।

सुकेको मकैका बोट काटेर उनीहरुले किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको र मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गएको बताए।

भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा लगाएको सबै मकै सुक्न थालेपछि घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेको बताइन्।

सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताए।

जेठ २८, २०८० आइतबार ११:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।