विश्व टेस्ट च्याम्पियनसिप जित्न भारतले अन्तिम दिन २८० रन बनाउनुपर्ने
एजेन्सी : भारतले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्न अन्तिम दिन २८० रन बनाउनुपर्ने भएको छ। भारतसँग अब विकेट भने ७ मात्र बाँकी छ।
आइसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अस्ट्रेलियाविरुद्ध अन्तिम दिन २८० रन जोडेमा भारतले कीर्तिमानी जितसँगै उपाधि उचाल्ने छ।
उता अष्ट्रेलियालाई भने उपाधिका लागि अब भारतको बाँकी ७ विकेट झार्नुपर्ने हुन्छ।
फाइनलमा अष्ट्रेलियाले दिएको ४४४ रनको विशाल तथा कीर्तिमानी लक्ष्य पछ्याएको भारतले चौथो दिनको खेल सकिँदासम्म दोस्रो इनिङमा ३ विकेट गुमाउँदै १६४ रन बनायो।
भारतका लागि विराट कोहली ४४ रन र अजिंक्या रहाणे २० रनका साथ क्रिजमा छन्। ओपनर शुभमन गिल १८, कप्तान रोहित शर्मा ४३ र चेतेश्वर पुजारा २७ रनमा आउट भएका थिए।
यसअघि अष्ट्रेलियाले चौथो दिन आफ्नो दोस्रो इनिङ २७० रनमा डिक्लियर गरेको थियो। अष्ट्रेलियाले पहिलो इनिङमा ४६९ रन बनाउँदा भारत भने पहिलो इनिङमा २९६ रनमा अल आउट भएको थियो।
जेठ २८, २०८० आइतबार ०९:२६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।