यात्रुवाहक बसमा ‘डस्टविन’ अनिवार्य

यात्रुवाहक बसमा ‘डस्टविन’ अनिवार्य

दमौली : तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ।

व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभाबी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो। 

जथाभाबी रूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए।

सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभाबी रूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उनले बताए। जथाभाबी रूपमा अटेर गरी फोहर फालेमा पहिलोपटक रु तीन हजार र दोस्रोपटक रु सात हजारसम्म जरिवाना गरिने पनि उनले जानकारी दिए।

नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको छ।

जेठ २८, २०८० आइतबार ०८:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।