घोगा लाग्ने बेलमा खडेरीले खेतमै सुक्न थाले मकैका बोट

घोगा लाग्ने बेलमा खडेरीले खेतमै सुक्न थाले मकैका बोट

चितवन : खडेरीले खेतमै मकैका बोट सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।

सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको र मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गएको बताए।

भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा लगाएको सबै मकै सुक्न थालेपछि घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेको बताइन्।

सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताए। सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन भएको उनले उल्लेख गरे।

चितवनमा २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकै खेती गरिने जनाइएको छ। चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ। हाल मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका छन्। 

जेठ २८, २०८० आइतबार ०८:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।