सरकारको कामबाट भ्रष्टहरू अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

सरकारको कामबाट भ्रष्टहरू अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको 
 बताएका छन्।

शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन्।

उनले भने, ‘सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्, नराम्रो गर्दै नगर्ने, नराम्रो गर्नै नदिने तत्वहरू विरोधका लागि विरोध गरिरहेका छन्।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको चुनौतीका बीच पनि नीति तथा कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएको दाबी गर्दै कृषिलाई उच्च प्राथमिकतामा राखेको बताए।

आफूहरूले उत्पादन र उत्पादकत्व प्रवर्द्धन गर्ने नीति लिएको र उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्ने भन्दै उनले कृषिको अनुदान सिधै किसानको हातमा दिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्रीले सरकार भ्रष्टाचारका विरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने बताए।

‘‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ। यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौं,’ उनले थपे, ‘भ्रष्टाचारविरोधी अभियान निरन्तर अगाडि बढ्छ। सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौं।’

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको दाबी गर्दै भारतीय प्रधानमन्त्रीले नै सीमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु राष्ट्रको लागि गौरवको विषय भएको तर्क गरे।

‘‘यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्वपूर्ण सहमति भएका छन्। इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको छु’’ प्रधानमन्त्रीले भने, ‘‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो। यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो।’

जेठ २७, २०८० शनिबार १८:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।