नेदरल्यान्डसविरुद्ध नेपाल ३६ ओभरमै अलआउट
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यास खेलमा नेपालले नेदरल्यान्डस्लाई १५७ रनको लक्ष्य दिएको छ।
दक्षिण अफ्रिकामा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ३६.५ ओभरमा अलआउट हुदैँ १५६ रन जोडेको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए। गुल्सन झाले २४, प्रतिश जिसीले १९, सोमपाल कामी र आरिश शेखले १८, भीम सार्कीले १० रन जोडे।
सधैँ झैँ यस खेलमा पनि ओपनर जन्म सकेनन्। कुशल भुर्तेल ९ रनमा आउट हुँदा आशिफ शेख र अर्जुन साउदले समान ४–४ रन जोडे। दीपेन्द्रसिंह ऐरी ६ रनमा पेभेलियन फर्किँदा किशोर महतो १ रन बनाएर नटआउट रहे।
बलिङतर्फ लिभान विकले सर्वाधिक ५ विकेट लिँदा क्लेटोन फ्लोइडले दुई र शरिज अहमतले एक विकेट लिए।
नेदरल्यान्डस्ले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।
यसअघि बिहीबार स्कटल्यान्डसँग भएको अभ्यास खेलमा पनि नेपाल ७ विकेटले पराजित भएको थियो।
यो अभ्यास खेलपछि नेपाली टोली विश्वकप छनोटका खेल खेल्न जिम्बावे जानेछ। त्यहाँ टोलीले युएई र ओमानसँग अभ्यास खेल खेल्नेछ।
त्यसपछि जुन १८ तारिखमा नेपालले जिम्बावेसँग उद्घाटन खेल खेल्नेछ।
जेठ २७, २०८० शनिबार १६:४१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।