प्रधानमन्त्रीले कौडीको मूल्यमा नेपालका नदी भारतलाई बेचे : अध्यक्ष ओली

प्रधानमन्त्रीले कौडीको मूल्यमा नेपालका नदी भारतलाई बेचे : अध्यक्ष ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कौडीको मूल्यमा नेपालका नदी भारतलाई बेचेको गम्भीर आरोप लगाएका छन्।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणको क्रमामा प्रधानमन्त्री दाहालले तल्लो अरुणको नाममा दुईवटा नदी भारतलाई बेचेको आरोप लगाएका हुन्।

‘भारत भ्रमणमा के गरेर आउनु भयो त? दुई वटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ। जमाइएको पानी हाम्रो हो,’ ओलीले भने, ‘त्यसबाट निस्किएको पानी हाम्रो अधिकारको कुरा हो। त्यत्रो बाँध बाँधेर बनाएको आयोजनाबाट २१ प्रतिशत बिजुली लिएका छौं, भने तल्लो सित्तैमा पाएको पानीमा पनि २१ प्रतिशत पाएका छौं।’

भारत भ्रमणका क्रममा वर्तमान सरकारले नेपालको भूमीबारे चुँइक्क पनि बोल्न नसकेको अध्यक्ष ओलीको टिप्पणी छ। उनले युक्रेनको वारका कारण नेपालका नदी सित्तैमा दिएको हो? भन्दै प्रश्न गरे।

‘युक्रेनका वारले हामीकहाँ धुला उडायो कि के गर्यो? युक्रेनको वारले हो हाम्रो नदीहरू प्रचण्डजीले सित्तैमा दिएर आएको? आफ्नो भूमिबारे चुँइक्क बोल्न नसकेको युक्रेनको वारले हो?,’ ओलीले भने, ‘१५ वटा राँगा ल्याएँ भनेर त्यही पनि राँगा लिएर आउने भनेर निस्काए रे! यो त केपी ओलीकै पालादेखि चलेको रहेछ रे! उहाँहरुले कुनै कुरै चलाउन सक्नुहुन्न।’

जेठ २७, २०८० शनिबार १६:१८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।