समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन गर्नुपर्छः देउवा

समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन गर्नुपर्छः देउवा

भक्तपुरः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन्। 

प्रत्यक्ष निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए। 

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज आयोजना गरेको कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भने, 'समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधानमा रहेको व्यवस्था परिमार्जन गरेर जानुपर्छ, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसद्मा दुई तिहाइ चाहिन्छ, त्यसमा सबै पार्टीमा सहमति भए गर्न नसकिने होइन, हामीले मात्रै केही गर्न सक्दैनौँ।' 

कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै उनले नेता तथा कार्यकर्तालाई पार्टी बलियो बनाउन जिल्ला, पालिका, वडा, गाउँ र टोलसम्म अभियान लिएर जान निर्देशन दिए।

संगठनलाई बलियो बनाउने अभियान भक्तपुरबाटै सुरु गरेर सफलता प्राप्त गर्दै देशभर फैलाउन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए।

गठबन्धनको सरकारमा ठूलो पार्टी नेपाली कांग्रेस भए पनि सबैलाई चित्त बुझाएर जानुपर्ने बाध्यता रहेको बताए। गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस ठूलो पार्टी बनेको उनले उल्लेख गरे। 

कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता टिकाउन अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णयले लोकतन्त्र कमजोर बनेको आरोप लगाए।

उनले भने, 'जिल्ला, उच्च र सर्वोच्च अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ, राष्ट्रपतिले यसलाई रोक्नु पर्थ्यो , दण्डहीनतालाई प्रश्रय दिने गरी भएका यस्ता निर्णयलाई जनताले नियालिरहेका छन्।'

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउँदै नेता कोइरालाले भने, 'अहिले निर्वाचन आयोगलाई हामीले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनुपर्छ भनेर भनिराखेका छौँ। तर सरकारले निर्वाचन आयोगलाई सीडियोको मातहतमा लगेर एउटा कोठामा थन्क्याएर राख्न खोज्दैछ, त्यसले लोकतन्त्र बलियो हुन सक्दैन, लोकतन्त्र बलियो हुन निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ।'

जेठ २७, २०८० शनिबार १६:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।