सर्लाहीको हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

सर्लाहीको हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

सर्लाही : हरिपुर्वा नगरपालिका कार्यालयमा गत दुई महिनादेखि ताला लागेको छ।

नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको हो।

नेपाली कांग्रेस, एमाले, जसपा, माओवादी केन्द्र लगायतका पार्टीले एक सर्वदलीय सङ्घर्ष समिति बनाएर नगरपालिकाको आफ्नै जमिनमा कार्यालय भवन बनाउनुपर्ने लगायतका ९ वटा माग राखेर आन्दोलन गरेको थिए।

यो माग पूरा गर्न नगरपालिकाले चासो नदिएपछि सङ्घर्ष समितिले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो। नगरपालिकाको भवन मन्दिरको जमिनमा बनाउन खोजेपछि विवाद बढेको थियो।

नगरपालिकामा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन मान्दैनन्। दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेको नगर प्रमुख विनोद साहले जानकारी दिए।

उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनमार्फत नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको एक वर्ष पूरा भए पनि आन्तरिक विवादका कारण नगरको विकासको काम ठप्प जस्तै छ।

२७ जेठ, २०८०, ११:४१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।