खडेरीले बीउ सुक्दा पर्वतमा रोपाइँ प्रभावित

खडेरीले बीउ सुक्दा पर्वतमा रोपाइँ प्रभावित

पर्वत : लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा रोपाइँ प्रभावित भएको छ। यति वेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन्। 

विगतका वर्षमा जिल्लाका अधिकांश वडामा अहिलेसम्म कोदो रोपाइँ सकिन्थ्यो भने केही वडामा धान रोपाइँ हुन्थ्यो। तर यस वर्ष भने कुनै पनि वडामा रोपाइँ सुरु नभएको कृषकले बताएका छन्।

लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ सुक्न थालेको छ भने मकै लगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको छ।

पर्वतका अधिकांश वडामा वर्षाको भरमा खेतीबाली लगाउँदै आइएको छ। झण्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा छ। तर सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको हो। 
    
जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो। मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ।

२७ जेठ, २०८०, १०:२०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।