एमेच्योर खेलाडी सुबाशको कब्जामा सूर्य नेपाल प्रिमियर गल्फको उपाधि

एमेच्योर खेलाडी सुबाशको कब्जामा सूर्य नेपाल प्रिमियर गल्फको उपाधि

काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपालका नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङले जितेका छन्।

सुबाशले अन्तिम दिन ७ अन्डर ६५ को उत्कृष्ट स्कोर गर्दै समग्रमा २१ अन्डर २६७ सहित अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराए।

सुबाशको यो सिजनको दोस्रो र करियरको पाँचौं प्रो उपाधि हो। उनले प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको अन्त्य गरे।

प्रोफेसनल गल्फरहरूले यो पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन्। राष्ट्रिय टिमका खेलाडी युवा गल्फर सदभावले १ अन्डर ७१ सहित समग्रमा १७ अन्डर २७१ को स्कोरमा दोस्रो स्थान प्राप्त गरे। उनी एमेच्योरतर्फ पनि दोस्रो भए।

धरानका नीरज तामाङले ४ अन्डर ६८ को स्कोर निकाले र समग्रमा १२ अन्डर २७६ सहित तेस्रो भए। प्रोफेसनलतर्फ उनी पहिलो भए। उनले २ लाख ७० हजार नगद पुरस्कार प्राप्त गरे।

डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले ४ अन्डर ६८ मा खेल सकाउँदा समग्रमा ११ अन्डर २७७ सहित चौथो स्थान प्राप्त गरे। प्रोतर्फ दोस्रो हुँदै उनले १ लाख ७० हजार प्राप्त गरे।

यो पुरस्कार राशीमा शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन्। यो सिजन उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात गरे।

खेलपछि सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रबि के रायभरम, एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।

प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो। कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे।

२७ जेठ, २०८०, ०९:१५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।