नेपाली वायुसेवा युरोपको कालोसूचीमा कायमै

नेपाली वायुसेवा युरोपको कालोसूचीमा कायमै

काठमाडौँ : नेपालले बारम्बार प्रयास गरे पनि युरोपेली युनियनको हवाई सुरक्षा सम्बन्धी ‘एभिएसन सेप्टी लिस्टबाट हट्न असफल भएको छ।

युनियनको सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा कायम राखेको छ।

गत नोभेम्बरमा बसेको सुरक्षा काउन्सिलको बैठकले समेत नेपाललाई कालोसूचीमा राखेको थियो। युरोपियन युनियनले ७ जुन मा सूची अद्यावधि गर्दा नेपाल कालो सूचीमै रहेको छ।

युरोपियन युनियनले नेपाललाई सन् २०१३ देखि नै कालोसूचीमा राख्दै आएको छ। युरोपेली युनियन मातहतको एभिएशन सेप्टी एजेन्सीले सन् २०२२ अक्टोबरमा  मिसन नेपाल पठाएर हवाई सुरक्षाबारे अध्ययन गरेको थियो।

कालोसूचीमा पर्दा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीहरूको जहाज नेपालबाट युरोपेली मुलुकमा सिधा उडान गर्न पाएका छैनन्। यसको सबैभन्दा ठुलो मार नेपाल एयरलाइन्समा परेको छ।

२६ जेठ, २०८०, २२:२५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।