गगन : एकै व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने दुई-तीन-चार?, देउवा : अब सभापति बन्दिन नडराए हुन्छ

गगन : एकै व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने दुई-तीन-चार?, देउवा : अब सभापति बन्दिन नडराए हुन्छ

चितवन : नेपाली काँग्रेसको भातृ संस्था डेमोक्रेटिक लयर्श एसोसिएसनको ११ औँ महाधिवेशनमा पार्टीका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै भने’ एकै व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने?’

माओवादीसहितको गठबन्धनमा भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि पालो काँग्रेसको हो। पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा नै प्रधानमन्त्रीमा अगाडि छन्।

गगन संसदीय दलको नेतामा देउवासँग प्रतिष्पर्धा गरेर पराजित भएका थिए। उनले आफूलाई तत्कालै प्रधानमन्त्रीको दाबेदारको रुपमा समेत अगाडि बढाएका छैनन्। अहिलेकै समिकरण कायम रहेसम्म सम्भव पनि छैन।

चितवनमा शुक्रवार आयोजित कार्यक्रममा थापाले सोधे’ एकै व्यक्ति कति चोटि प्रधानमन्त्री हुने? दुई, तीन, चार?’

उनले कार्यक्रममा एउटै व्यक्ति पटक पटक एउटै पदमा रहने विषय पार्टीभित्र खुलेर छलफल गर्ने बेला भएको समेत बताएका थिए।

कार्यक्रममा देउवा पनि उपस्थित थिए। उनले गगनले प्रधानमन्त्रीमा कति पटक दोहोरिने भन्ने विषयमा प्रवेश गरेनन्। बरु पार्टीको सभापति पदबारे बोल्दै आफू दुई पटक सभापति भइसकेकाले तेस्रो पटक नहुने बताए।

उनले पार्टीको विधान अनुसार तेस्रो पटक सभापति हुन नमिल्ने अनि एमालेले पार्टी नेताको ७० वर्षीय उमेर हद हटाए जस्तो सभापतिको कार्यकालबारे संशोधन गर्ने पक्षमा नभएको भन्दै डर नराख्न भने।

२६ जेठ, २०८०, २१:१४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।