पर्यटन र हवाई सेवाको कर कर विरुद्ध व्यवसायी, एक वर्षपछि लागु गर्न माग

पर्यटन र हवाई सेवाको कर कर विरुद्ध व्यवसायी, एक वर्षपछि लागु गर्न माग

काठमाडौँ : शुक्रवार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), होटेल एसोसिएसन अफ नेपाल (हान) र वायुसेवा सञ्चालक संघले करबारे सरकारको ध्यानाकर्षण गराएको हो।

उनीहरूले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि व्यवस्था गरेका करका दर खारेज गर्नुपर्ने माग गरेका हुन्।

व्यवसायीहरूले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै सङ्घ-संगठन सम्मिलित विज्ञ समूह-समिति बनाएर अध्ययन गर्नुपर्ने र घोषित कर १ वर्षपछि मात्र लागु हुने गरी व्यवस्था गर्न प्रस्ताव गरेका हुन्।

कोभिड १९ महामारीबाट भर्खरै लयमा फर्कँदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउनुभन्दा सरकारले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर पार्ने प्रावधान राखेको दाबी गरेका थिए।

 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा फ्लाइट भाडा नै महँगो भएको बताए। सरकारले करका दर हेरफेर गर्दा केमा बढाउने र केमा घटाउने भन्ने कुनै छलफलै नगरी भ्याट बढाइएकोप्रति असन्तुष्टि जनाए।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन व्यवसायीहरूले चाबी सरकारलाई बुझाएर बस्नुपर्ने स्थिति सिर्जना भएको दाबी गरेका थिए।

नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने उनीहरूको चेतावनी थियो।

भ्याट लगाउँदा विदेशी पर्यटकको टुर प्याकेज महँगो हुने भन्दै व्यवसायीले यस प्रावधानबाट नेपाल भ्रमण निरुत्साहित हुनसक्ने बताए।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, टुर तथा सफारी प्याकेज कम्तीमा १ वर्ष अगाडीबाटै बुकिङ गरी सोअनुसारको मूल्य राखिने गरेको भन्दै उनीहरूले नयाँ थप भएका कर र शुल्कले व्यवसायी मारमा पर्ने उनीहरूको तर्क छ।

व्यवसायीले पर्यटकको सवारीको हकमा सवारी साधनको पूर्ण फिटनेस जाँच गरी ३० वर्षे आयु कायम गर्न समेत माग गरेका थिए।

पर्यटन व्यवसायीहरूले आफ्नो माग पुरा नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका थिए। उनीहरूले आफ्नो माग सरकारका विभिन्न निकायमा बुझाएको भन्दै माग सम्बोधन नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिए।

२६ जेठ, २०८०, १९:३७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।