गृहमन्त्रीको विश्वास- नक्कली शरणार्थीका अभियुक्त अदालतबाट पनि उम्किँदैनन्

गृहमन्त्रीको विश्वास- नक्कली शरणार्थीका अभियुक्त अदालतबाट पनि उम्किँदैनन्

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी प्रकरणका अभियोगीहरू अदालतबाट समेत उम्किन नसक्ने विश्वास व्यक्त गरेका छन्।

बिहीबार मन्त्रालयमा नागरिक अगुवाहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्नेमा जोडसमेत दिए।

डा.संजिव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापा सहितका नागरिक आन्दोलनका अगुवाहरू शुक्रबार नक्कली शरणार्थी प्रकरणको विषयमा दबाव दिनका लागि मन्त्रालय पुगेका थिए।

उनीहरूले नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन? भन्ने लिखित प्रश्न र आशंकासमेत जाहेर गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले शरणर्थी प्रकरणसम्बन्धी थप अनुसन्धानलाई जारी राखिने आश्वासन दिए। शहीदको लाममा मिसिन तयार रहेको तर सुशासन र जनसेवाका लागि लडिरहने उनको प्रतिबद्धता छ।

ठोस तथ्यप्रमाण विना अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेको समेत उनले बताए।

२६ जेठ, २०८०, १८:०३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।