युनिटीको नाममा रहेको साढे तीन अर्बको सम्पत्ति खै!

युनिटीको नाममा रहेको साढे तीन अर्बको सम्पत्ति खै!

काठमाडौं : पिरामिड शैलीको अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेर तीन लाख बढी सर्वसाधारणको तीन अर्ब बढी रकम ठगी गरेको भन्दै युनिटी लाइफ इन्टरनेशनलविरुद्ध अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढेको १३ वर्ष भयो। तर अझैँ टुंगिएको छैन।

अनुसन्धानमा सो समूहले तीन लाख २४ हजार २ सय ८५ जना सर्वसाधारणसँग तीन अर्ब ६० करोड रकम उठाएको खुलेको थियो। विभिन्न वित्तीय संस्थामा ३२ करोड मौज्दात रहेको र भौतिक सम्पत्तिहरू त्यतिकै रहेको खुलेको थियो।

काशीराम गुरुङले २०६७ मा सर्वोच्च अदालतमा दायर गरेको रिटमा गरिएको दाबीमा तीन अर्ब १८ करोड लगानी गरेको उल्लेख छ।

यसबीचमा जम्मा सर्वसाधारणको तीन करोड ५० लाख फिर्ता गरेको दाबी देखिए पनि बाँकी भौतिक सम्पत्ति, कम्पनीको नाममा किनिएका जग्गा अनि ठगीमा संलग्न कम्पनीका व्यक्तिहरूको सम्पत्ति के भयो कतै खुल्दैन।

उकेराले युनिटीका सञ्चालक काशी गुरुङ लगायतकाहरूको सहयोगमा पछिल्लो समय विभिन्न बहानामा जग्गा बेचविखन गरिरहेको र यसमा परिचित जग्गा कारोबारी कालु गुरुङले सघाएको प्रमाणसहितको समाचार प्रकाशित गरेको थियो।

सो समूहले स्वयम्भूमा रहेको जग्गा बैंकबाट लिलाम गराएर आफ्नै समूहका सदस्यलाई किन्न लगाएर बिक्री गरेका थिए। उता रोक्का रहेको जग्गा सर्वोच्चबाट फुकाउन लगाएर साङ्लाको तीन रोपनी जग्गा समेत बिक्री गरिसकेका छन्।

स्वयम्भूको जग्गा करिव ४० करोडमा र साङ्लाको जग्गा करिव चार करोडमा बिक्री गरेको जानकार स्रोतले बतायो।

खै यत्रा सम्पत्ति?
युनिटी विवाद सार्वजनिक भएपछि सरकारले त्यसबारे छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनि युनिटीमा संलग्नहरूले गरेको दाबीमा कम्पनीको नाममा अर्बौँको भौतिक सम्पत्ति रहेको देखिन्छ।

तर ती सम्पत्तिको अवस्था अहिले के छ केही खुल्दैन। सो समूहले युनिटी लाइफ इन्टरनेशनल, एस्युरेन्स युनिटी लाइफ इन्टरनेशनल, जन युनिटी लाइफ हस्पीटल एन्ड रिसर्च सेन्टर प्रालि खोलेको थियो।

उनीहरूले युनिटी अस्पतालको नाममा सतुङ्गल, पोखरा, इलाम, इटहरी, हेटौंडा, नवलपरासी, सिन्धुली, बागलुङ, स्याङजा, दमौली र दाङमा अस्पताल खोलेको विवरणमा उल्लेख छ। करिव २ हजार स्वास्थ्यकर्मीले काम गरिरहेको युनिटिका सञ्चालकहरुले दावी गर्दै आएका थिए।

अनुसन्धानमा ती अस्पताल भाडाको घरमा चलिरहेको र उपकरणहरू रहेको खुलेको थियो। तर अहिले ती अस्पतालको अवस्था र त्यसमा रहेका महंगो उपकरणको अवस्था खुल्दैन।

सूचीमा १४ वटा डिपार्टमेन्ट स्टोर, ब्याम्बो प्लाइ उड फ्याक्ट्री, फिना वर्ल्ड सहकारी, सजिवन खेती लगायतका विवरण देखिन्छ। विभिन्न बैंकमा नगद मौज्दात समेत रहेको खुलेको थियो।

ठगी प्रकरणमा सञ्चालक काशी लगायतकाहरू केही समय कारागारमा बसेर रिहा भए। अहिले उनीहरु युनिटीको नाममा रहेका सम्पत्तीहरु ब्यक्तीगत प्रयोजनमा खर्च गर्न सक्रिय देखिएका छन्।

तर राज्यको सरोकारवाला निकाय भने मौन छ। सरकारी निकायले न युनिटीको भौतिक सम्पत्तीको सुरक्षामा चासो लिएको देखियो न ठगिएका सर्वसाधारणको रकम फिर्ता गर्न नै चासो लिएको देखियो।

को-को थिए संलग्न ?
युनिटी ठगी प्रकरणमा काशीराम गुरुङ, भिम गुरुङ, इन्द्र विक, नेत्र राजवंशी, महेन्द्र केसी, बलराम सैजु, विष्णु क्षेत्री, कृष्ण क्षत्री, कालु गुरुङअनी लोकबहादुर टण्डन संलग्न देखिएका थिए।

यीमध्ये अदालतबाट कालु गुरुङले सफाई पाए। अन्यमाथि सजाय भएको थियो। सजाय सुनाइएको लामो समय काशी विष्णु अनि कृष्ण भारतमा लुकेर बसेका थिए। उनीहरु पक्राउ परे। विष्णुको निधन भइसकेको छ।

पछिल्लो समय कालु गुरुङको सक्रियतामा काशी, बलराम सैजु अनी नेत्र राजबंशी युनिटीको नाममा रहेको सम्पत्ती ब्यक्तीगत प्रयोजनमा ल्याउन सक्रिय देखिएका छन्।

जग्गा कारोबारमा भक्तपुरका सैजु मुख्य ब्यक्ती रहेको जानकारस्रोतले बतायो। कालु र सैजु मिलेर युनिटीको सम्पत्ती विक्री गर्ने र त्यसबापत आउने रकम बाँडफाँड गर्ने गरेको स्रोतले बतायो।

‘स्वयम्भूको जग्गा बिक्री गर्दा आएको पैसाबाट काशीले कान्छी श्रीमतीको नाममा घर किनेका छन्,’ स्रोतले भन्यो, ‘दामासाहीमा सबैले पैसा बाँडेर लिए। अन्य जग्गा र सम्पत्तिहरू पनि बिक्री गर्न खोज्दैछन्।’

२६ जेठ, २०८०, १६:३२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।