मध्यमधार : छोरी समलिङ्गी भएपछि बुवाले नै पेट्रोल छर्किएर मार्न तम्सिए
प्रेम गर्नु अपराध होइन। तर समाज र राज्यले बनाइदिएको ‘लक्ष्मण रेखा’ नाघ्यो भने कस्तासम्म आरोप खेप्नुपर्छ अनि ज्यान नै दाउमा कसरी पर्छ भन्ने लक्ष्मी घलानको जोडीले भोगेको छ।
महिलाको यौनाङ्ग लिएर जन्मेका लक्ष्मीले महिलालाई नै मन पराएर उनैसँग बसेकै कारण झण्डै ज्यानै गुमाउनुपर्यो। तर हार मानेन उनको जोडीले। आफ्नो अस्तित्व रक्षाका लागि परिवारसँग लडे। ज्यान जोगियो। अहिले समलिङ्गी विवाहलाई मान्यता दिनुपर्छ भन्दै राज्यसँग लडिरहेका छन्।
हेटौंडा औद्योगिक क्षेत्रमा ४२ वर्षअघि जन्मिए लक्ष्मी घलान। बुवा हवल्दार, दुई भाइ र एक बहिनीकी दिदी थिए उनी।
भाइबहिनी साना थिए। घरमा बुबा नबस्ने भएकाले ‘छोरा’ मान्छेले गर्ने काम उनैले गर्थे। विद्यालय जाने अनि घरको काममा आमालाई सघाउने मुख्य जिम्मेवारी उनैको थियो।
उमेर बढ्दै गयो। स्वाभाविक नै हो कोही कसैलाई मन पराउनु। विपरीत लिङ्गीबीच मात्रै प्रेम र विवाह हुने सामाजिक रहनसहनमा उनी हुर्कँदै गर्दा उनको आकर्षण पुरुषतर्फ हैन, आफूजस्तै महिलालाई प्रेम गर्न पुगे।
उनलाई आफू फरक छु भन्ने लागेन। तर, महिलासँग नै प्रेम गर्न पाए हुन्थ्यो भन्ने लागिरह्यो। घरको काम गर्ने विद्यालय आउने-जाने चलिरहेकै थियो।
विद्यालय तह सकिएपछि उनलाई घरकै काम गरेर मात्रै भविष्य बन्छ भन्ने लागेन। त्यसपछि उनले बजारमा काम खोज्न जान थाले।
सुरूमा उनी सिलाइबुनाइमा गए, तर काममा फिटिक्कै मन गएन। सिलाइबुनाइमा उनको मन गएन तर त्यहाँ काम गर्ने मीरा बज्राचार्यसँग मन साटिन पुग्यो।
लक्ष्मी भन्छन्, ‘कति खेर माया बस्यो थाहै भएन।’
मीराको घर लक्ष्मीको घरदेखि आधा घण्टा पर थियो। गाउँजस्तै थियो त्यतिबेला हेटौंडा। एकले अर्कालाई नचिन्ने कुरै भएन। लक्ष्मी र मीराको प्रेम झाङ्गिन थाल्यो। मीरा लक्ष्मीको घर आएर पनि बस्थे।
सुरूमा त केटीकेटी बसेकाले कसैले मतलबै गरेनन्। दुवैका परिवारको राम्रो सम्बन्ध भयो पनि। जसै यिनीहरू केटीकेटी भएर पनि किन सधैँ सँगै बस्छन् भन्ने कुरा उठ्यो, त्यसपछि सुरु भए लक्ष्मी र मीराका दुःखका दिन। उनीहरूलाई परिवारले छुट्याउन केसम्म गरेन?
जब बुवाले लक्ष्मीलाई पेट्रोल छर्किएर मार्न तम्सिए
दुवैले काम गर्थे। सँगै एकअर्कालाई प्रेम पनि गर्थे। दुवैको परिवारलाई उनीहरूको प्रेम स्वीकार्य भएन। लक्ष्मीको परिवारमा दिनहुँजसो झगडा हुन थाल्यो। उनका बुवाले आमालाई के छोरी जन्माएकी यस्ती भनेर कुट्नै थाले।
आफ्नो कारणले आमाले कुटाइ खाएको हेर्न सक्दैनथे लक्ष्मी। बुवाले उनलाई निरन्तर परिवर्तन हुन दबाब दिन थाले।
‘मलाई के भएको छ र परिवर्तन हुने भन्ने लागिरहन्थ्यो,’ उनले भने, ‘मैले चाहेर मलाई केटी मन परेकै होइन, यो कुरा किन बुझ्नुहुन्न भन्ने लाग्थ्यो तर बुवालाई भनेर कुनै अर्थ थिएन।’
जब-जब लक्ष्मीका बुवा बजार पुग्थे, बजारनिर रहेको मीराको परिवारले 'तेरी छोरीले मेरो छोरी बिगारी' भन्थे। त्यसपछि सुरु हुन्थ्यो लक्ष्मीको बुवाको बबण्डर।
लक्ष्मीको बुवाले मार्छु भनेर पेट्रोलसमेत ल्याए। पेट्रोल खन्याएर, आगो लगाएर मार्छु भनेर जहिले तनाव दिने। दिनकै तनावले हैरान भएका लक्ष्मी र मीराले काठमाडौं आउने योजना बनाए। योजना त बनाए, तर सफल हुन निकै ठूलो सकस भयो।
जब मीराले विष पिइन्
उनीहरू २०५९ सालमा हेटौंडाबाट काठमाडौं भागे। माओवादीको द्वन्द्व उत्कर्षमा पुगेको थियो। धादिङ बन्द भएको बेला पर्यो। उनीहरू फर्किए।
हाँडीखोलामा रहेकी दीपा दिदी र गोमा लुईंटेलको घरमा उनीहरू बास बसे। राप्तीको किनारनजिकै थियो बस्ती।
मीराको परिवारले बेच्न लगेको भन्दै लक्ष्मीलाई आरोप लगायो। माइती नेपालको टोली आइपुग्यो। उनीहरूलाई हेटौंडा लगियो। एक रेष्टुरेन्टमा राखेर दुवैलाई गाली गरियो। मीरामाथि कुटपिट पनि भयो।
दुवैलाई उप्रान्त एकअर्कालाई नभेट्ने भनेर कागज गराइयो।
कागज गराएर त छुट्टयाए, तर उनीहरूको मन भने छुट्टिन सकेन। लक्ष्मीको घरमा फोन थिएन, मीराको घरमा थियो। नजिकै पसलका दाइ ज्ञानी नै थिए। उनले बोलाइदिन्थे। ‘मलाई भगाउनु’ मीराको बोली यही हुन्थ्यो सधैं। लक्ष्मी के गर्ने के नगर्ने छटपटीमा पर्थे।
उनले घर छाड्ने अर्को उपाय लगाए। घरमा बुवालाई बालाजुमा दिदीहरूसँग बसेर काम गर्ने भने। बुवाले पनि घ्यू , तेल अनि चामलको पोको बनाइदिए। त्यसपछि सुरु भयो उनको यात्रा।
त्यो कुरा मीरालाई थाहा नहुने कुरै भएन। नजिकै गुम्बा थियो। गुम्बामा भेटेर दुवै हुइँकिए काठमाडौं।
मीराको परिवारले ठाउँ-ठाउँमा उनीहरूको हुलियासहित लक्ष्मीले मीरा भगाएको भनेर रिपोर्ट दिएका थिए। बाटैबाट मीरा घर गइन्। लक्ष्मी काठमाडौं आए।
यहाँ आएको उनका दिदीहरूलाई यो कुरा थाहा भएछ। ब्लु डाइमण्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्तलाई भेटे लक्ष्मीले।
लक्ष्मीसँग मीराको कुरा भने भइरहन्थ्यो। एक दिन मीराले भनिन्, ‘तिमी गएदेखि मलाई मानसिक मात्रै होइन, कुट्न पनि थाले, लिन आऊ।'
यता लक्ष्मीसँग पैसा थिएन, कसरी लिन जाने? उनले निर्णय गर्न सकेनन्। धेरै दिनसम्म मीराको फोन पनि आएन। उनलाई छट्पटी भयो। जब मीराको भाइको फोन आयो, उनी छाँगाबाट खसेजस्तै भए।
यता लक्ष्मी मीरालाई लिन जान सकेनन्। उता उनले परिवारको निरन्तर हिंसा सहन नसकेर हेटौंडाको जंगलमा विष पिइन्। त्यसपछि उपचारका लागि पाटन अस्पताल लगनखेल ल्याइएको रहेछ।
उनी मीरालाई भेट्न अस्पताल गए। दुवैको रुवावासी भयो। मीराले ब्युँझेपछि लक्ष्मीलाई बोलाइदिनु भनेर बोलाइदिएका रहेछन्।
केही दिन लक्ष्मी मीराको भाइको यतैको डेरामा बस्न थाले। सधैँ भाइको घरमा बस्न सम्भव भएन। उनीहरू काममा जानु छ भनेर बाहिर गए। त्यसपछि फर्केर गएनन्।
लक्ष्मीका बुवा काठमाडौं आएर लक्ष्मीलाई भरमार कुटे। रगताम्मे भए लक्ष्मी। कुटे पनि बुवाले दुवैलाई घर लिएर गए। तर खाना खान कुरिनटारमा गाडी रोकिएको मौका पारेर दुवै भागे।
‘त्यतिबेला माओवादी हुन् कि भनेर प्रहरीले पनि कम केरकार गरेनन्। मीराजीले त मरौँ भन्नुभएको थियो। मैले त डराएर नमरौँ भने। त्यसपछि उहाँले मलाई कायर भन्नुभयो’, लक्ष्मीले भने।
तत्कालीन इन्स्पेक्टर मीरा चौधरी नभएको भए...
काठमाडौं आए पनि टर्चर त बढेको बढ्यै। दुवैलाई बलात्कार गरिदिन्छुदेखि अनेक प्रकारका धम्की आउन थाले। यता लक्ष्मीका बुवाले पनि कुटिरहने। यो केस कालिमाटी महिला सेलसम्म पुग्यो। लक्ष्मीका बा, लक्ष्मी र मीरासमेत गए प्रहरीकहाँ।
प्रहरी चौकीमै लक्ष्मीका बाले ‘यसलाई मार्छु’ भनेर ड्युटी गरिरहेका प्रहरीको राइफल खोसे। अहिलेकी एआईजी एवं त्यतिबेलाकी इन्स्पेक्टर मीरा चौधरीले ‘के गर्दै हुनुहुन्छ हवल्दार साप’ भनेपछि उनी हच्किए।
‘हजुर सर’ लक्ष्मीका बुवा पनि अवकाशप्राप्त हवल्दार थिए। मीराले सम्झाइबुझाइ पठाइन्। त्यसपछि भने लक्ष्मीका बुवाले यस विषयमा बोल्नै छाडिदिए।
उता मीराको घरमा भने उस्तै समस्या छँदै थियो। हदै भएपछि मकवानपुर जिल्ला अदालतमा मीराले परिवारविरुद्ध रिट दिइन्। त्यतिबेला जिल्ला अदालतले उमेर पुगेका व्यक्ति सँगै बस्दा केही भन्न नसकिने भन्दै फैसला गरिदियो। त्यसपछि भने अलि कम भयो हिंसा।
अहिले उस्तो समस्या त छैन तर लक्ष्मी र मीराको लडाईं भने सकिएको छैन। परिवारसँग लडेर २४ वर्षदेखि उनीहरू सँगै त बसिरहेका छन् तर राज्यले कानूनी मान्यता नदिँदा मुद्दा सकिएको छैन।
अनि सुरु भयो कागजी लडाइँ
२४ वर्ष भइसक्यो लक्ष्मी र मीरा सँगै बस्न थालेका परिवार र समाजले कागज गराएर उनीहरूको सम्बन्ध तोडाउन नखोजेका हैनन्, तर सकेनन्।
कानूनमा वैवाहिक समानताको व्यवस्था नहुँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिबीच विवाह गर्न पाउने बाटो छैन। जसले गर्दा सम्पत्तिमाथिको अधिकारदेखि विभिन्न अपराध भए कानूनी उपचारका लागि समेत यो समुदाय वञ्चित छ।
गत वर्ष मितिनी नेपालको तर्फबाट समलिङ्गी विवाहका लागि सर्वोच्चले गरेको फैसलालाई नजिर मानी वैवाहिक समानता कायम गरी पाऊँ भनी निवेदन दिएका थिए।
अन्तिम फैसला जेठ १८ गते हुने भनिए पनि फेरि सर्यो। अर्को पेशी कात्तिक २२ लाई तोकिएको छ।
‘हामीले प्रेम गर्दा समाजबाट बहिष्कारमा पर्यौँ। झण्डै ज्यान गएन। अबको पुस्ताले यो भोग्नु नपरोस्, प्रेम व्यक्ति-व्यक्तिबीच हुन्छ न कि लिङ्गका आधारमा। यो कुरा सबैले बुझून् भनेर कानूनी लडाइँ लडेका हौँ। सर्वोच्चले न्याय गर्छ भन्ने आशा छ’, लक्ष्मीले भने।
जेठ २६, २०८० शुक्रबार १४:५९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।