भ्रष्टाचारबारे बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधान विपरीत : सांसद केसी

भ्रष्टाचारबारे बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधान विपरीत : सांसद केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सदनमा सांसदहरुले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोमा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्ने तर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए।

‘संसद्भित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधान विपरीत छ। प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई मैले गम्भीर आपत्तिका रुपमा लिएको छु,’ उनले भने, ‘कस्तो किसिमको संसदीय अभ्यासमा गइरहेका छौं? आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौं?’

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्नेमा पनि जोड दिए।

‘निरपेक्ष गरिवीको रेखामुनि बसेका सिमान्तकृत नेपालीको सामाजिक सुरक्षा, न्याय र आयलाई प्रत्याभूति गर्ने तर्फ केन्द्रित हुन सकेनौं भने केही ठाउँको विकासले क्षणिक विकास होला तर राष्ट्रिय विकासको गति अगाडि बढ्न सक्दैन,’ उनले भने।

२६ जेठ, २०८०, १३:५९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।