भकुण्डेबेशीमा दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव, ‘झिंगेदाउ’देखि ‘प्रकाश’सम्म प्रदर्शन गरिँदै

भकुण्डेबेशीमा दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव, ‘झिंगेदाउ’देखि ‘प्रकाश’सम्म प्रदर्शन गरिँदै

काठमाडौँ : शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ। महोत्सवका लागि १७ वटा फिल्म छनोट भएका छन्। आयोजकका अनुसार ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको हो। 

आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार ग्रामीण परिवेशमा बनेका फिल्महरू महोत्सवका लागि छनोट भएका हुन्।

बिहीबार काठमाडौँमा आयोजित ‘प्रि–इभेन्ट’ कार्यक्रममा महोत्सवमा छनोट भएका फिल्म र जुरी टिमलाई चिनाएको थियो। नेपाल चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी जुरी टिममा छन्।

आयोजकका अनुसार शुक्रवार र शनिवार हुने महोत्सवमा गत वर्षको हिट फिल्म ‘झिंगेदाउ’देखि ‘प्रकाश’सम्म प्रदर्शन गरिनेछन्। अध्यक्ष सापकोटाका अनुसार ‘डेसान’, ‘ल्हुई’, ‘निरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साइत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ महोत्सवमा प्रदर्शन गरिने बताए। 

सोही महोत्सवमा लिम्बु संस्कृतिमा निर्माण भएको फिल्म ‘लुङा’को प्रिमियर गरिँदै छ। यो फिल्म आगामी साउनमा प्रदर्शन  हुने तयारीमा छ ।

महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दिया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत गरिँदै छ। 

अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्ने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ। 

शनिवार उत्कृष्ट फिल्मलाई अवार्डसहित पुरस्कार वितरण गर्दै महोत्सव समापन गरिनेछ। महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो।

२६ जेठ, २०८०, १३:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।