प्रदेशको नाममा देशलाई जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई छैन : योगेश भट्टराई

प्रदेशको नाममा देशलाई जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई छैन : योगेश भट्टराई

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएको छ। एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो। 
 
आजको बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिएका थिए।

नेता भट्टराईले प्रदेशसभाबाट दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको नामकरण भएको सन्दर्भमा असहमति भए पनि लोकतान्त्रिक विधिबाट भएको निर्णयलाई पालना गर्नुका साटो पटक-पटक अवाञ्छित घटना हुन थालेको बताए।

‘प्रदेशको नाम केन्द्रले राख्ने होइन, प्रदेशले नै राख्ने हो। कसैलाई नाम चित्त बुझेको छैन भने वैधानिक रूपमा दुई तिहाइ बहुमत ल्याएर नाम परिवर्तन गरे हामीलाई स्वीकार्य छ,’ उनले भने, ‘देशलाई अराजकता र जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई छैन।’

उनले प्रदेशको नामकरण भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई झापामा ढुङ्गामुढा गर्ने, एम्बुस थाप्ने र अवरोध सिर्जना गर्ने जस्ता कार्य भएको बताए।

उनले प्रदेशको नामकरण सम्बन्धमा विराटनगरमा निधन भएका एक प्रदर्शनकारीको निधनको घटनाबारे पनि गृहमन्त्रीको जवाफ माग गरेका थिए।

जेठ २६, २०८० शुक्रबार १२:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।