भक्तपुरका चारवटै नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

भक्तपुरका चारवटै नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

काठमाडौं : भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन्।

विभिन्न रोगको उपचारका क्रममा अत्यावस्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउन थालेका हुन्।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने बारे सम्झौता गरेपछि रेडक्रसले बिरामीका लागि अत्यावस्यक रगत निःशुल्क उपलब्ध गराउन थालेको हो।

रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुर जिल्लाभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिस पत्र पेस गर्नुपर्ने बताए।

बिरामीलाई रेडक्रसले निःशुल्क उपलब्ध गराएको रगतको शुल्क भने सम्बन्धित नगरपालिकाले सोध भर्ना दिने सहमति गरेसँगै रगत निःशुल्क उपलब्ध गराउन थालिएको हो।

जेठ २६, २०८० शुक्रबार ०९:०५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।