पुनः निर्माणपछि सर्वसाधारणका लागि खुला गरियो इच्छाकामना मन्दिर

पुनः निर्माणपछि सर्वसाधारणका लागि खुला गरियो इच्छाकामना मन्दिर

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माताको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनः निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो। 

मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिर भित्रैबाट पूजा गर्न खुला गरिएको छ।

विधिवत् रूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको हो।

बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनः निर्माण सम्पन्न भएको हो।

मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो। ढुङ्गा र माटोले बनेको सो पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनः निर्माण गरिएको थियो।

जेठ २६, २०८० शुक्रबार ०८:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।