वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना, एक हप्ता निःशुल्क शल्यक्रिया

वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना, एक हप्ता निःशुल्क शल्यक्रिया

काठमाडौंः वीर अस्पतालमा ‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’को स्थापना भएको छ।

बिहीबार अस्पतालमा विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आयोजित कार्यक्रममा यो केन्द्रको उद्घाटन भएको हो। यो केन्द्रको स्थापनाले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र राम्रो, छिटो तथा प्रभावकारी उपचार हुने उद्देश्य र विश्वास रहेको अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्राडा राजीव झाले जानकारी दिए। 

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापनाले ब्रेन ट्युमरका लक्षण भएका बिरामीको स्क्रिनङ गरी रोग पहिचानका लागि समेत सहज हुने विश्वास छ।

एउटै केन्द्रमा बिरामीले प्रभावकारी सेवा पाएको खण्डमा बिरामी भौंतारिनुपर्ने बाध्यतामा हट्ने केन्द्रको विश्वास छ। 

यसअघि नेपालमा ब्रेन ट्युमरको उपचारका लागि कुनै निश्चित सेन्टर नभएकाले बिरामीले दुःख पाउँदै आएका डा. झाले बताए।

ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै सिटी स्क्यान तथा एमआरआईलगायत विधिबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। तर, रोगको पहिचान र शल्यक्रियाका लागि ढिला हुँदा बिरामीले दुःख तथा पीडा पाउनुपरेको र वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा शल्यक्रियाका लागि बिरामीले कुर्नुपर्ने बाध्यता भएको चिकित्सकले बताएका छन्। 

छिटो र प्रभावकारी सेवाका लागि ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै स्वास्थ्य परीक्षण गरी एकैठाउँमा औषधि उपचार तथा शल्यक्रिया गर्ने केन्द्रको आवश्यकता भएकाले लामो प्रयासपछि वीर अस्पतालमा बिहीबारबाट ‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’को स्थापना गरी सेवा सञ्चाल सुरु गर्न सम्भव भएको डा. झाले जानकारी दिए। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा. भूपेन्द्र कुमार बस्नेतले ‘ब्रेन ट्युमर उपचार केन्द्र’को स्थापनापछि वीर अस्पतालबाट ब्रेन ट्युमर भएका बिरामीले एकीकृत रुपमा सेवा पाउने बताए। यो केन्द्रको स्थापनाका लागि निकै मिहिनेत गर्नुपरेको उनले बताए। 

त्यसैगरी वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिहीबारबाट एक हप्ताका लागि ब्रेनट्युमरका बिरामीको शल्यक्रिया निःशुल्क गरिने जानकारी दिए।

‘यो हप्ता ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ,’उनले भने। 

यो केन्द्रको स्थापना र सञ्चालनको सुरुवात भएपछि अब नेपालमा ब्रेन ट्युमरका बिरामीको समेत तथ्यांक एकीकृत रुपमा राख्ने कामको सुरुवाती गर्ने डा. झाले जानकारी दिए। 

वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीका लागि सेवा दिँदै आइरहेको छ। तर, वीर अस्पतालमा अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि रोग जटिल हुँदा उपचारका लागि आइपुगेका डा. झाले बताए। 

‘ब्रेन ट्युमर भएका कतिपय बिरामी त यस्तो अवस्थामा आइपुग्नुहुन्छ कि बिरामीलाई बचाउनसमेत असम्भव हुन्छ,’ डा. झाले भने,‘बिरामीलाई बचाउनै नसक्ने अवस्थामा आइपुग्दा हामीसँग दुःखी हुनुबाहेक उपाय हुँदैन।’ 

विकसित मुलुकमा ट्युमर सानो हुँदा नै अधिकांश बिरामीको रोगबारे जाँच गरिने गरिएको पाइने उनले बताए। तर, वीर अस्पतालमा भने ट्युमर ठूलो भइसकेपछि मात्रै अधिकांश बिरामी अस्पताल पुग्ने गर्दा उपचार गर्ने चिकित्सकका लागि समेत चुनौतीको विषय हुने गरेको डा. झाको भोगाइ छ। 

उनका अनुसार ब्रेन ट्युमरको एउटा मुख्य लक्षण टाउको दुख्नु हो। टाउको दुख्यो भन्दै बिरामीले पारासिटामोल सेवन गर्ने गरेको पाइन्छ।

बिरामीलाई ब्रेन ट्युमर रोगको ज्ञान अभावका कारण अस्पताल पुग्दा अधिकांशको ट्युमर धेरै ठूलो भइसकेको हुने गरेको पाइन्छ। अधिकांश बिरामीमा ट्युमर ठूलो भएका कारण बेहोस हुने, बान्ता धेरै हुने, छारेरोग जस्ता लक्षण देखिने, आँखा देख्न छाड्ने, कान सुन्न छाड्ने, खाना निल्न कठिन हुनेजस्ता समस्या देखिन्छन्। अनि मात्र लिएर वीर अस्पताल आइपुग्ने गरेको उनी बताउँछन्। 

ट्युमरका कारण स्वास्थ्य अवस्था नै जटिल बनिसकेर अस्पताल पुगेका बिरामीलाई बचाउनसमेत कठिन हुने गरेको डा. झाले बताए। 

त्यसैले निरन्तर टाउको दुख्न थालेपछि अस्पताल गएर स्वास्थ्य परीक्षण गर्न चिकित्सकको सुझाव छ। बेलैमा स्वास्थ्य परीक्षण गरे बेलैमा ब्रेन ट्युमर हो/हैन भन्ने पत्ता लगाउन सकिन्छ। जसले उपचारमा समेत सहजता हुन्छ र ब्रेन ट्युमर भएका बिरामीको ज्यान बचाउन सकिने चिकित्सक बताउँछन्। 

नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या प्रत्येक वर्ष बढिरहेको देखिएको डा. झा बताउँछन्। अझै जनचेतना कमीका कारण धेरै ब्रेन ट्युमर भएका बिरामी ढिला मात्रै अस्पताल पुग्ने गरेको उनले बताए। 

समयमा नै पत्ता लगाएर उपचार गरे यो रोग पूर्ण रुपमा ठिक हुन सक्ने उनी बताउँछन्।

२५ जेठ, २०८०, २२:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।