हिजोका कुरा : विरोधी विद्यार्थी भेट्यो कि प्रहरीले अस्कलको छतमा लगेर खसाल्थ्यो, कति त मरे
२०३८ सालदेखि अभिनय गरिरहेका कलाकार हुन् उत्तम केसी। हास्यविधामा बढी सक्रिय रहेका उनी दर्शकमाझ ‘चुइँचुइँ पारेर’ भन्ने थेगोले परिचित छन्।
२०३६ सालमै खानेपानी विभागमा मुखिया पदमा नियुक्ति पाएका उनले त्यसबेला ज्यालादारीबापत एक सय ८५ रुपैयाँमा काम सुरु गरेका थिए। पछि लोकसेवा पास गरेर स्थायी नियुक्तिसँगै उनले वन विभाग, भूमिसुधार मन्त्रालयमा काम गरे। र २०७१ मा अवकाश पाए।
२ सय ५० बढी फिल्ममा अभिनय गरेका केसी काठमाडौं मनमैजुका स्थायीवासी हुन्। गाविसबाट नगरपालिका भएपछि अहिले उक्त स्थान तार्केश्वर नगरपालिका-११ मा पर्छ।
सामान्य परिवारका सदस्य केसीका बुवा काठमाडौं अदालतमा जागिरे थिए। उनी घरका जेठो छोरा हुन्। उनले आफ्नो बाल्यकालदेखि जागिरे जीवनलाई यसरी सम्झिएः
पढ्न मनमैजुदेखि हिँडेरै दरबार हाइस्कुल
मेरो बाल्यकाल काठमाडौंको नेपालटारमा नै बित्यो। अहिलेचाहिँ नगरपालिका भइसक्यो। पहिला त गाउँ हो। बच्चामा बाँसको झ्याङ,पाखाबारीमा खेलीखाई हुर्केको। अहिले पो शहर भएर घरैघर भयो। पहिले त खेतैखेत हो।
मेरो पढाइ नेपालटारमा नै रहेको प्राइमरी स्कुलमा भयो। ५ कक्षासम्म त्यहीँ पढेँ। यो स्कुलमा ५ कक्षा पढिसकेपछि कक्षा ६ मा भानु माध्यमिक विद्यालय दरबार हाई स्कुलमा भर्ना भएँ। हिँडेरै आउनुपर्थ्यो।
दरबार हाइस्कुलमा पढ्दापढ्दै मन नलागेर हो कि या के भयो, अचानक पढ्न छोडेँ। यो स्कुल पढ्न छोडेपछि फेरि बालाजुकै तरुण माध्यमिक विद्यालयमा भर्ना भएँ। त्यसलाई 'टायल भट्टा' पनि भनिन्थ्यो।
यो स्कुल भएको ठाउँमा पहिला इँटा पोल्ने भट्टी थियो। राणाकालीन दरबारलगायतका भवन वनाउँदा यहीँ इँटा टायल पोल्ने गोलो भट्टा थियो। त्यही भएर टायल भट्टा पनि भन्थे।
त्यही भट्टाभित्र बसेर पढ्ने गरिन्थ्यो। यो स्कुलमा पढाइ एकदमै अब्बल मानिन्छ। त्यो बेला नेपालकै टप सामुदायिक स्कुलमा गनिन्थ्यो। अहिले पनि राम्रो विद्यालय हो।
स्कुलमा पढ्दा प्रायः हाम्रो खाजा चिया पाउरोटी थियो। दरबार हाई स्कुल पढ्न आउँदा घरबाट मलाई २५ पैसा दिनुहुन्थ्यो।
त्यो २५ पैसामा १० पैसाको पाउरोटी, १० पैसाकै चिया र ५ पैसाले बरफ किनेर खान्थेँ। कुनै कुनैले खुवा बरफ भनेर थर्मस जस्तो हातमा बोकेर बेच्न आउँथेँ। यो बरफ मिठ्ठा बरफभन्दा अलिक मिठो हुन्थ्यो।
एसएलसीमा ४ वटा विषयमा फेल
दरबार हाई स्कुलबाट घर नजिकै रहेको तरुण माध्यमिकमा भर्ना भएँ। तरुणमा पढ्न थालेपछि मेरो पढाइ राम्रो भयो। यहाँ मैले सात कक्षा पढिसकेपछि फेरि जुद्धोदय पब्लिक हाइ स्कुलमा पढ्न थाले।
यो जेपी स्कुलका नामले चर्चित छ। यो स्कुल एलएलसीमा बोर्ड फस्ट वनाउने स्कुलका रूपमा चिनिथ्यो। २०३६ सालमा एसएलसी दिएँ। तर एसएलसी पास गर्न सकिनँ। चार वटा विषयमा फेल भएँ। तर मैले पढाइमा हारिनँ। अनि २०३७ सालमा फेरि एसएलसी दिएँ र पास गरेँ। यो मेरो जीवनकै ठूलो संघर्ष थियो।
स्कुल पढ्दा फिल्म हेर्ने लत बस्यो
२०३३ सालतिर काठमाडौंमा रञ्जना, विश्वज्योति, जय नेपाल सिनेमा हल थिए। पाटनमा अशोक सिनेमा थियो भने भक्तपुरमा नवदुर्गा सिनेमा भन्ने थियो। अहिले पनि छँदै छ। नेपालका पुराना हलहरू यिनै हुन्।
माटोले वनाएको हल अनि काठको ढोका हुन्थ्यो। फिल्म हेर्न मन भए पनि पैसा हुँदैनथ्यो। हलको ढोकामा उभिएर, कान थापेरभित्र हलमा बोलेका कुरा सुन्थ्यौँ।
हलमा बाहिर पाले राखेको हुन्थ्यो। त्यसले ढोकामा पुग्नेबित्तिक्कै लखेट्थ्यो। हामी जबर्जस्ती फिल्मको साउण्ड सुन्थ्यौँ। पालेले ढोकामा उभिएको देख्यो कि भाटाले बजाइहाल्थ्यो।
हामी अटेर गरेर फिल्ममा बोलेको डाइलग सुन्थ्यौँ। भोलिपल्ट स्कुलमा गएर साथीहरूलाई हामीले त हिजो फिल्म हेरेर आयौँ भनेर पूरा सुनाउँथ्यौ। त्यो पनि धाकका साथ।
मलाई लाग्छ ,यो बेलामा फिल्मको टिकट त्यही ५० पैसा थियो। मैले सुरुमा हेरेको फिल्म अशोक हलमा ‘माइतीघर’ भन्ने थियो। त्यसको हरेक स्टोरी अहिले पनि भन्न सक्छु।
२०३६ सालको आन्दोलनकारी
एसएलसी दिने समयमा नेपालमा ठूलो आन्दोलन भएको थियो। यो आन्दोलनमा हामी नाराजुलुस लगाउँदै हिँड्थ्यौँ।
मलाई पढ्न अलिक अल्छी लाग्ने। अनि पढाइभन्दा बढी ध्यान नाराजुलुसमा जान थाल्यो। क्षेत्रपाटीबाट नाराजुलुस लगाउँदै अस्कल क्याम्पससम्म पुग्थ्यौँ। पुलिसले लाठी बोकेर लखेट्थ्यो। हाम्रो भागाभाग हुन्थ्यो।
त्यो बेलाको अस्कल काण्ड अहिले पनि बेला बेलामा चर्चा हुने गरेको छ। त्यो काण्डमा पनि म मुछिएको थिएँ। पुलिसले आन्दोलनकारीलाई अस्कलको छतबाट फुत्तफुत्त खसालेर मार्थ्यो। त्यसबेला कति घाइते भए कति।
एक दिन आन्दोलन गर्दै अस्कल कलेज जाँदै गर्दा प्रहरीले लखेट्यो। प्रहरीले लखेट्दा म अस्कलको बारबाट भाग्न खोजेँ। भाग्न खोज्दा फलामको काँडामा अल्झिएँ। खुट्टामा गहिरो चोट लाग्यो। तर,पनि भाग्नुपर्ने बाध्यता थियो। नत्र प्रहरीले अस्कलको छतमा लगेर मलाई झार्थ्यो।
त्यो समयमा भाग्दा खुट्टामा लागेको चोटको खत अहिले पनि छ। प्रहरीले लखेटेपछि कलेजको पछाडिबाट भागेको भाग्यै एकैपटक चक्रपथ पुगेँ। अनि मात्र फर्केर हेरेँ।
एसएलसीपछि खानेपानीमा जागिर
एसएलसी सकिने अघिल्लो दिन मेरो ठूलो बुबाको छोराले आफ्नो घरमा बोलाउनुभयो। मलाई लाग्यो, मैले परीक्षा बिगारेको कुरा कसले लगाइदियो। अब यिनले मार्ने भए भन्ने लाग्यो। बिस्तारै दाइको घर गएँ।
दाइले जाँच कहिले सकिन्छ भनेरे सोध्नुभयो। मैले आज भनेँ। उहाँले भोलिदेखि के छ त काम भन्नुभयो। काम केही पनि थिएन। त्यही भनेँ।
उहाँले ल आज जाँच दिने भोलि मेरो अफिस आउने महाराजगञ्ज भन्नुभयो। उहाँ त्यहाँ खानेपानी विभागको कर्मचारी हुनुहुन्थ्यो। किन बोलाउनुभयो मलाई थाहा थिएन। एसएलसी दिएको भोलिपल्ट उहाँको अफिस गएँ।
दाइले उ त्यहाँ प्रशासन शाखामा गएर एक जना शिवबहादुर सरलाई भेट भन्नुभयो। मैले दाइले भनेबमोजिम भेटेँ। शिव सरलाई भेट्ने बितिक्कै उहाँले मलाई नियुक्ति पत्र दिनुभयो।
नियुक्ति पत्रमा मासिक ज्यालादारी लेखिएको थियो। इन्द्रावती खानेपानीको मुखिया पद। महिनाको १ सय ८५ रुपैयाँ तलब। नियुक्ति पत्र लिएँ। त्यहीँका एकजना कर्मचारीले रजिस्टरमा मेरो नाम लेखेर साइन गर्न लगाए। नियुक्ति पत्र त लिएँ, तर के काम गर्ने हो थाहा थिएन। अनि फेरि मैले नियुक्ति पत्र दिने हाकिमलाई सोधेँ, ‘म सधैँ आउनुपर्छ ?’
उहाँले ‘अँ पर्छ’ भन्नुभयो। मेरो जागिर दर्ता चलानीमा भएको रहेछ। खासै केही गर्नु नपर्ने। हाजिर गरेर घर आए हुने। मैले हाजिर गरेकै भरमा जागिर खाएँ।
२०३८ सालसम्म त्यहीँ जागिर खाएँ। अनि लोक सेवा आयोगमा मुखियाका लागि परीक्षा दिएँ। पास पनि भएँ। ज्यालादारीमा काम गरिरहेका मान्छे स्थायी नियुक्ति पाएपछि खानेपानी छाडेर वन विभाग गएँ।
वन विभागमा जागिर खाँदा भू-संरक्षण विभाग, सामुदायिक वनमा काम गर्ने मौका पाएँ। यसैको सेरोफेरोमा कपिलवस्तु, नुवाकोटा वन विभाग, रौतहट वन कार्यलय हुँदै बबरमल भू-संरक्षण विभागमा आइपुगेँ।
यहाँ आइपुगेपछि २०७१ सालमा जागिर छोडेँ। उमेर हदका कारण २०७८ सम्म जागिर खान्थेँ होला तर, मलाई त्यहाँ बस्न मनै लागेन।
जागिर खाँदा भाग्ने बानी बसेको। यहाँ आएपछि अफिसमा बसेर काम गर्न मनै लागेन। यहाँ आएपछि हिँड्नै नपाउने।
भूमिसुधारमा आएपछि धेरैले हेर्ने नजर नै फरक हुँदो रहेछ। वन विभागतिर हुँदा मान्छेले खासै वास्ता गर्दैनथिए। यता आएपछि मान्छेले घुस्याको नजरले हेर्न थाले।
मैले काम गर्दा ठगेँ होला, तर घुस एक पैसा पनि खाइनँ। मसँगै काम गर्ने कतिपय वनपालेले काठमाडौंमा २,३ वटा घर बनाए। तर आफूलाई त्यस्तो व्यवहार पटक्कै मन लागेन।
भूमिसुधारमा सरुवा भएपछि मान्छेले जागिर कहाँ भनेर सोध्थे। वन विभागमा हुँदा यतैको नाम लिन्थेँ। उनीहरूले पनि 'ए' भन्थे। अहिले जागिर कहाँ भन्दा 'ओहो भूमिसुधार ?, 'ओहो,मालपोतमा जागिर, मोज गर' भन्न थालेपछि थपक्कै छोडेको हो।
जेठ २५, २०८० बिहीबार २२:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।